प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

पक्षमा १७२ मत खस्दा विपक्षमा ८९

चैत ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् ।

सोमवारको प्रतिनिधिसभा बैठकमा पेस भएको विश्वासको मतको पक्षमा बहुमत सांसदले मत दिएका छन् । उक्त प्रस्तावको पक्षमा १७२ सांसदले मत दिएका छन् । उक्त संख्या संसदको कुल संख्याको बहुमत हो । प्रधानमन्त्रीलाई विश्वासको मत लिनका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।

प्रतिनिधिसभामा पेस भएको विश्वासको मतको विपक्षमा ८९ सांसदले मत दिएका छन् । यस्तै १ सांसदले भने उक्त प्रस्तावमा मत दिएका छैनन् ।

मतदानपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा गरे ।

प्रधानमन्त्री दाहालले यसअघि गत पुस २६ गते विश्वास प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला उनले बैठकमा उपस्थित २७० जना सांसदहरूमध्ये २६८ जनाको मत पाएका थिए ।
त्यतिबेला सरकारलाई समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिएका हुन् ।

Translate »