सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

स्काई न्यूज/ चैत ७, सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा सत्ता गठबन्धनका विद्यार्थी संघ संगठनलाई हराउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विजयी भएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको सुर्खेत बहुमुखी क्याम्पस (साविक शिक्षा क्याम्पस) मा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सोमबार राती अबेर आएको परिणामले नेकपा एमाले समर्थित अनेरास्ववियुले भारी बहुमतका साथ सत्ता गठबन्धनका विद्यार्थी संघ संगठनलाई हराउँदै प्यानलसहित विजयी भएको हो ।

चैत ५ गते आइतबार भएको निर्वाचनको परिणामले क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्कल सिजापतिले ९ सय ६७ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले प्रमुख प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्र समर्थित अखिल क्रान्तिकारीका उम्मेदवार हिक्मत शाहीलाई ४ सय ७९ मतले पराजीत गरेका हुन् । उनका प्रतिद्वन्द्वी शाहीले ४ सय ८८ मत प्राप्त गरे । सचिवमा अनेरास्ववियुका भुवानीप्रसाद ढकालले ९ सय ४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेस समर्थित नेपाल विद्यार्थी संघका मिलन विसीले ४ सय ७२ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदमा समेत अनेरास्ववियुका ललित रानाले सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका अखिल क्रान्तिकारीका रामशरण विकलाई ३ सय २० मतले हराउँदै विजयी भएका छन् । उनले ७ सय ७० मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका विकले ४ सय ५० मत मात्र प्राप्त गरे । कार्यसमितिको सदस्य पदमा समेत अनेरास्ववियुका सबै उम्मेदवार विजयी भएका छन् । अनेरास्ववियुका उम्मेदवार भरतबहादुर शाही–८ सय ५४, राधा रिजाल–८ सय ५९, गगन आले मगर– ८ सय ८४, जुद्द रोकाय– ८ सय ८८, दिपेन्द्र शाही–८ सय ३०, महेन्द्रविक्रम खड्का–७ सय ९३, निरा जैशी– ८ सय ५० तथा अशोक बराल मगर–८ सय ६९ मत प्राप्त गरेर विजयी भएका हुन् । निर्वाचनमा कुल १ हजार ६ सय ८१ मत खसेको थियो ।

Translate »