सल्यानमा किराना पसलमा आगलागी हुँदा जलेर ५ जना घाइते

चैत ७, सल्यान । सल्यानमा आगलागीमा जलेर घरधनीसहित पाँच जना घाइते भएका छन् । सल्यान जिल्लाको कुमाख गाउँपालिका–४ भण्डारखोलास्थित शंकर रानाको तीन कोठे एक तले टिनले छाएको घरमा रहेको किराना पसलमा सोमबार राति साढे ८ बजेतिर एक्कासि आगो लाग्दा पसलका साहु रानासहित पाँच जना घाइते भएका हुन् ।
घाइते हुनेमा भण्डारखोला निवासी २४ वर्षीयका घरधनी शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीयजीवन राना, २० वर्षीय सञ्जिव शाह, १८ वर्षीय क्षेत्रमनी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । घाइते भएका शंकर राना, यज्ञ राना र जीवन राना बोल्न नसक्ने र सञ्जिव शाह र क्षेत्रमनी राना हल्का बोल्न सक्ने अवस्थामा रहेको उनले जानकारी दिए ।

उनका अनुसार सख्त घाइते भएका सबैलाई मिसन अस्पताल चौरजहारीमा सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज बाँके लगिएको छ । पसलमा एउटा प्लास्टिक जर्किनमा पेट्रोल राखेको हुँदा सलाई कोर्दा आगलागी भएको हुन सक्ने आशंका भए पनि वास्तविक कारण भने खुल्न सकेको छैन ।
आगलागी हुँदा पसलमा के कति क्षति भयो भन्ने खुल्न नसकेको र प्रवनानी लक्ष्मीदत्तको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरी मुचुल्का उठाइरहेको उनको भनाइ छ ।