नरहरिनाथमा विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धि कृत्रिम अभ्यास

स्काई न्यूज /चैत ७, कालिकोट ।  कालीकोटको नरहरिनाथ गाउँपालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धि कृत्रिम अभ्यास गरिएको छ । नरहरिनाथ गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धि दुई दिने कृत्रिम अभ्यास तालिम सहास नेपालको पाइला परियोजनाले हुरिन्डेक भकारी परियोजना कालिकोटको प्राविधिक सहयोगमा गरेको हो ।

स्थानीय विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्वन्धि क्षमता अभिबृद्धि गर्ने उद्देश्यले अभ्यास गरिएको पाइला परियोजनाका कालीकोट प्रमुख विशन थापाले बताए ।

उनले स्थानीय स्तरमा विपद्को सामना गर्नका लागि पूर्व अनुकुलन अभ्यास अपरिहार्य रहेको जनाए । उनका अनुसार तालिम अभ्यास कार्यक्रममा नरहरिनाथ गाउँपालिकाको विपद् व्यवस्थापन समिति अन्तर्गतका पूर्ब सूचना प्रणाली, खोज तथा उद्दार, राहत बितरण तथा पुर्नस्थापना, क्षति तथा आबश्यकता बिश्लेषण, प्राथमिक उपचार र लैङ्गिक समानता तथा संरक्षण जस्ता ६ वटा विपद् कार्यदलका सदस्यहरुको सहभागिता रहेको थियो ।

‘तालिममा नरहरिनाथको प्रकोप स्तरीकरणका आधारमा उच्च जोखिममा रहेको पहिरो एवं प्रतिकार्य गर्न कृत्रिम घटना अभ्यास गरियो,’ उनले भने, ‘तालिमको पहिलो दिन विपद् व्यवस्थापनका लागि पालिका स्तरमा बनेका ६ वटा कार्यदलका साथै विपद्का बखत प्रत्येकले निर्वाह गर्नुपर्ने भूमिकाका सम्वन्धमा पुनर्ताजगी र दोस्रो दिन सोही कार्यदलको जिम्मेवारीका आधारमा गाउँपालिकाको प्रांगणमा स्थानीय समुदायको उपस्थितिमा पहिरो सम्वन्धी कृत्रिम घटना अभ्यास गरिएको थियो ।’

अभ्यास कार्यक्रममा गाउँपालिका कार्यवाहक अध्यक्ष कटकबहादुर बुढाले विपद् ताका महिला, बालवालिका, जेष्ठ नागरिक, तथा अपांङ्गगता भएका व्यक्तिहरु बढी प्रभावित हुने गरेको अनुभव सुनाए ।

उनले उच्च प्राथमिकताका साथ प्याकेजमै त्यस्ता व्यक्तिहरुका लागि खोज, उद्दार, राहत र पुनस्र्थापनाका कार्यक्रमहरु बनाईनु पर्नेमा जोड दिए ।

विपद्बाट जोकोही प्रभावित हुन सक्ने भएकाले पालिका स्तरीय विपद् कार्यदल, कार्यरत सम्पूर्ण संघसंस्था र स्थानीय समुदायहरुलाई प्रतिकार्यका लागि सधै तयारी अवस्थामा बसिरहनु पर्ने उनको भनाइ थियो ।

सहयोगी हातहरुको समूह (सहास) नेपालले फेल्म नेपालको साझेदारीमा कालीकोटको नरहरिनाथ गाउँपालिकासँगै जाजरकोटको शिवालवय गाउँपालिकामा पाइला परियोजना मार्फत जलवायु परिवर्तन अनुकुलन, खाद्य सुरक्षा र विपद् व्यवस्थापनका लागि जलवायु उत्थानशील बनाउन क्षमता अभिबृद्धि, प्रविधि तथा आय आर्जनमुलक क्रियाकलापहरु सञ्चालन गरिरहेको परियोजनाका अनुगमन अधिकृत  खगेन्द्र विकले जानकारी दिए ।

Translate »