अबैध ढुङ्गा गिट्टी बालुवा उत्खननमा सुर्खेत प्रहरीको निगरानी बढ्यो


स्काई न्यूज/चैत ८, सुर्खेत । सुर्खेतका स्थानीय खोला तथा नदीबाट अबैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढेको छ । आफुखुशी नदीजन्य पदार्थ उत्खनन गरी चोरी निकासी बढेपछि सुर्खेत प्रहरीले निगरानी बढाएको हो । राजनीति आवरणमा हुने अबैध वालुवा गिट्टी, ढुङ्गा उत्खनन निकासी कार्यलाई रोक्ने क्रममा जिल्ला प्रहरी कार्यालयले दुई वटा मालबाहक गाडी समेत नियन्त्रणमा लिएको जनाएको छ ।
सदरमुकाम वीरेन्द्रनगरसँगै आसपासका स्थानीय तहबाट प्रहरीकै मिलेमतोमा अबैध वालुवा गिट्टी, ढुङ्गा तस्करी भईरहेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालयले सुक्ष्म निगरानी बढाएको हो । मनलागी ढंगले ढुङ्गा गिट्टी बालुवा उत्खनन हुन थालेपछि वीरेन्द्रनगर नगरपालिकाले यसै वर्षदेखि मेसिन प्रयोग गर्न नपाईने नियम बनाएको छ ।

प्रत्यक्ष मानवश्रम बेल्चाले बालुवा गिटी, ढुङ्गा उत्खनन गर्दा समय बढी लाग्नुका साथै फाइदा कम हुने हुँदा मेसिनको प्रयोग गरी चोरी तस्करी हुने गरेको स्थानीय बताउँछन् । अबैध बालुवा गिटी, ढुङ्गा उत्खनन कार्य रोक्न यामलाल गिरीको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन तयारी भएको वीनपाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताए । उनले प्राकृतिक स्रोतसाधन (नदीजन्य पदार्थ) को अबैध चोरी निकासी रोक्न टास्कफोर्ससँगै अनुगमन कार्य बढाईने जनाए ।
उनका अनुसार वीनपाले गरेको वातावरणीय प्रभाव मूल्यांकनमा समेत ढुङ्गा–गिट्टी–बालुवा संकलन कार्यका लागि मेसिनको प्रयोग गर्न नपाईने स्पष्ट उल्लेख गरेको छ । अबैध बालुवा गिटी, ढुङ्गा उत्खनन तस्करी कार्यमा बैधानिक रुपले ठेक्का लिएका कम्पनीहरुको समेत संलग्न रहने गरेको आशंका गरिएको छ । यद्यपि ! चोरीछिपी मेसिनको प्रयोग गरेको ठोस प्रमाण भने हालसम्म फेला नपरेको अनुगमनमा संलग्नहरु बताउँछन् ।

यता सदरमुकाम आसपासका खोला तथा नदीबाट अबैध वालुवा गिट्टी, ढुङ्गा उत्खनन कार्यको नियन्त्रणमा प्रहरीको समेत सक्रियता बढेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकबेशी नगरपालिका र बराहताल गाउपालिकाबाट अवैधरुपमा बालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी चोरी निकारी गर्ने कार्य अहिले पनि रोकिएको छैन् ।

तस्करले दिन मात्र होइन, रातको समयमा खोला तथा नदी किनारमा मेसिन अर्थात स्काभेटरको प्रयोग गरी अवैध रुपमा वालुवा गिट्टी, ढुङ्गाको उत्खनन कार्य जारी राखेको स्थानीय बताउँछन् । हामीले खोलामै पुगेर सोध्दाखेरि प्रहरीले खेदाएजस्तो गर्ने र आफूहरु भागेजस्तो गर्ने गरेको एक जना स्थानीयले सुनाए । ‘प्रहरी तथा अनुगमन टोली आउने पूर्वजानकारी गराउने गरेका छन्,’ उनले भने, ‘माफियाले तिमीहरु पनि बाँच्नु पर्छ भन्छ, हामी पनि जोगिनुपर्छ, तिमीहरु प्रहरी आउँदा भागेजस्तो गर्नु, उसले खेदाएजस्तो गर्छ ।’

उनले स्थानीय जनप्रतिनिधिकै संरक्षणमा अबैध वालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी निकासी हुने गरेको जनाए । उनका अनुसार भुतखोला, झुप्रा खोला, गिरीघाट र रानीघाटमा स्काभेटरको प्रयोग गरी बालुवा गिट्टी, ढुङ्गा उत्खनन गरेर ट्रिपरमा लगिने गरेको छ । यता सुर्खेतका प्रहरी प्रमुख (एसपी) योगेन्द्रसिंह थापाले जिल्लाका विभिन्न स्थानमा अबैध बालुवा गिट्टी, ढुङ्गा उत्खनन कार्य भईरहेको जानकारी पाईएपछि निगरानी बढाईएको जनाए ।
उनले कानून विपरित अबैध बालुवा गिट्टी, ढुङ्गा उत्खनन कार्यमा सलग्नहरुको खोजीसँगै नियमन कार्य जारी राखिएको बताए । ‘स्थानीय प्रहरीकै मिलेमतोमा वालुवा गिट्टी, ढुङ्गा तस्करी भईरहेको आरोप निराधार भएको पाईयो,’ उनले भने, ‘जिल्लाभरी अबैध बालुवा गिट्टी, ढुङ्गा उत्खनन कार्यमा कुनैपनि प्रहरीको संलग्नता भएको पाईए कडा कार्वाही हुनेछ ।’

उनले अबैध नदीजन्य पदार्थ दोहन भईरहेको जानकारी जोकोहीले पनि सूचना दिने वित्तिकै प्रहरी परिचालन हुने जनाए । तर, यस सम्वाददातालाई भने नियमन अभावमा लामो समयदेखि वीरेन्द्रनगर आसपासका क्षेत्रमा अबैध वालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी स्थानीय बजारमै खपत हुने गरेको सूचना प्राप्त भएको छ । स्रोतका अनुसार वीरेन्द्रनगर भित्रिने सुब्बाकुना, धुलियाविट, करेखोला, बाङ्गेसीमल लगायतका नाकाबाट अबैध नदीजन्य पदार्थ आउने गरेको छ ।


