गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिए

चैत १० पोखरा । गण्डकी प्रदेश सरकारका दुई जना मन्त्रीले राजीनामा दिइएका छन् । नेकपा माओवादी केन्द्रबाट प्रदेश सरकारमा सहभागी भएका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले आज मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् । पुस २५ गते एमाले संसदीय दलका नेता अधिकारीको नेतृत्वमा बनेको सरकारमा माओवादीबाट दुई मन्त्री सरकारमा सहभागी भएका थिए ।


माओवादी केन्द्र प्रदेश संसदीय दलको आज बसेको बैठकले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । माओवादीले मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी आजै संसद्लाई जानकारी दिने तयारी गरेको छ । माओवादी सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको औपचारिक जानकारी संसद् सचिवालयलाई गराएपछि मुख्यमन्त्री अधिकारीले पुनः विश्वासको मत लिनुपर्ने हुन्छ ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अधिकारीले १ महिनाभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने हुन्छ । ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसद आवश्यक पर्छ । गण्डकीमा काँग्रेसको २७, एमालेको २२ माओवादीको ८ र राप्रपाको २ सिट रहेको छ । मनाङबाट सर्वसम्मत स्वतन्त्र सांसद बन्नुभएका राजीव गुरुङ (दिपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएसँगै गण्डकीमा नेकपा एकीकृत समाजवादीको पनि प्रतिनिधित्व छ ।

Translate »