आज कर्णाली प्रदेशसभा बैठक बस्दै
सुर्खेत । झन्डै दुई महिनापछि कर्णाली प्रदेशसभाको बैठक आज बस्ने तय भएको छ । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले चैत्र १२ गते दिउँसो ३ बजेका लागि बैठक आव्हान गरिएको बताए । अहिलेसम्म बैठकका कुनै एजेण्डा पेश नभएपनि कुन विषयमा छलफल गर्ने भन्ने विषय सोही समयमा बस्ने सर्वदलीय बैठकले निर्णय गर्ने सचिव बुढाथोकीले जानकारी दिए ।
यसअघि पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । प्रदेशसभामा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास गरी ४ वटा संसदीय समिति रहेका छन् । ती समितिले कहिले पूर्णता पाउने हुन् भन्ने विषयमा स्वयं सरकार र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु बेखबर रहेका छन् ।