सुर्खेतका ६० जना सक्रिय पत्रकारको निःशुल्क आँखा चेकजाँच


ज्योतिखर शर्मा /चैत १३, सुर्खेत । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको ६८औं स्थापना दिवसको अवसरमा नेपाल नेत्र ज्योति संघसँगको सहकार्यमा सोमबार सुर्खेतका पत्रकारहरुको निःशुल्क आँखा चेकजाँच गरिएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा आयोजना गरिएको निःशुल्क आँखा चेकजाँच शिविरबाट ६० जना सक्रिय पत्रकारहरुले लाभ लिएको स्वास्थ्यकर्मीले दिपेन्द्रप्रसाद सहनीले जानकारी दिए ।
उनले आँखा चेकजाँचका लागि आउनु भएका पत्रकारहरुमा बढी मोवाइल, ल्यापटप, कम्प्युटर जस्ता ईलेक्ट्रोनिक वस्तुहरु चलाउँदा देखापर्ने समस्याहरु देखिएको बताए । उनका अनुसार आँखामा समस्या देखिएका पत्रकारहरुलाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको थियो ।


शिविरि उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले पत्रकाहरु बढी समय इलेक्ट्रोनिक सामाग्रीको नजिक रहेर काम गर्नु पर्ने भएकाले समय–समयमा आँखा जाँच गराउन आवश्यक रहेको औल्याए । त्यस्तै नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले पत्रकारका आँखा स्वस्थ र तन्दुरुस्त भएपछि मात्रै तेस्रो आँखा तेजिलो हुने हुँदा कामसँगै स्वास्थ्यमा समेत ध्यान दिन जोड दिए ।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघ अन्तर्गत एकीकृत आँखा तथा कान कार्यक्रमका कर्णाली प्रदेश संयोजक मानबहादुर कुँवरले विधुतिय सामाग्रीहरुमा बढी बस्नु पर्दा पत्रकारहरुका आँखामा विभिन्न समस्याहरु देखा पर्ने हुँदा थप समस्या नहोस् भनेर शिविरको आयोजना गरिएको बताए । उनले कर्णालीमा अन्धोपनलाई हटाउँन आँखा उपचारका लागि छुट्टै रणनीति बनाएर संघले काम गरि रहेको जानकारी दिए ।


