सल्यान दार्माका ३२४ घरमा धारा जडान

चैत १५, सल्यान । खानेपानीको अभाव झेलेका दार्मा गाउँपालिका–३ का स्थानीयको लागि लिफ्ट प्रविधिको प्रयोग गरेर एक घर, एक धारा सञ्चालनमा आएको छ ।

पानीका मुहान सुक्दै जाँदा खानेपानीको हाहाकार झेल्दै आएका फारुलाचौरका १४०, दार्मा ५ का ६, मालिकाका ३८ र मलिक्चाका ८० घरधुरीमा घर घर जडान गरिएको छ ।

घरघरमा खानेपानी धारा आएसँगै वर्षौँदेखि खानेपानीको समस्याबाट स्थानीयले मुक्ति पाएका छन् ।

स्थानीयको समस्यालाई मध्यनजर गर्दै दार्मा गाउँपालिकाको एक करोड, नेपाल रेडक्रस सोसाइटीको ३४ लाख ६० हजार र १० लाख बराबरको जनश्रमदान गरी १ करोड ४८ लाख ६० हजारको लागतमा तीन खानेपानी योजना सम्पन्न गरिएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।

पालिकाको एक घर एक धाराको नीति र स्थानीयलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउन एकै पटक ३२४ घरमा खानेपानी विस्तार गरिएको उनको भनाई छ ।

घण्टौँ हिँडेर कुवा र मूलको पानीको पानी प्रयोग गर्दै आएकोमा अहिले गाउँपालिकाले लिफ्ट प्रविधिबाट खानेपानी आयोजना सञ्चालन गरेर घर घरमा निर्माण भएपछि दैनिक जीवनमा सहजता आएको स्थानीय बिमला रोकायले बताए ।

खानेपानी लिन सामुदायिक धारा र कुवामा जानु पर्ने र लाइन लाग्दा घरको दैनिक काममा ढिला हुने गरेको बताउँदै अहिले घर घरमा खानेपानीको धारा निर्माण हुँदा लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको उनको भनाई छ ।

खानेपानीको अभाव झेल्दै आएका स्थानीयका लागि घर घरमा धारामा पानी आउनु स्वर्ग पुगेजस्तै भएको अर्का स्थानीय तोला बुढाथोकीको भनाई छ । अब खानेपानीको लागि गर्नु पर्ने दुःखको अन्त्य भएकोमा खुशी लागेको बुढाथोकीको भनाई छ । उनले भने ‘समयको बचत मात्र भएको छैन, पिउन सरसफाईमा सहजता हुनुका साथै करेसाबारीमा सिचाई समेत हुने गरेको छ ।’ सबै मिलेर पानीका मुहान र धारा संरक्षण गर्नु पर्नेमा उनले जोड दिए ।

खानेपानीको जोहो गर्नका लागि गाग्री लिएर टाढा रहेको धारासम्म जानु पर्ने बाध्यता हटेको शेर बहादुर सुनारले बताए । उनले भने ‘घरघरमै धारा जडान भएर पानी आउन थालेपछि यहाँका बासिन्दालाई लहज र सुविधा भएको छ । आँगनमै पानीको पहुँच पुगे पनि स्थानीयवासी हर्षित भएका छौँ ।’ रेडियो नेपाल

Translate »