नेपाल टेलिभिजन कर्णाली व्यूरो कार्यालय भवनको निरीक्षण

स्काई न्यूज /चैत २०, सुर्खेत ।  नेपाल टेलिभिजनको एक टोलीले सुर्खेतमा स्थापना गर्न लागिएको कर्णाली व्यूरो कार्यालयको भवन मर्मत सम्भार तथा निर्माण कार्यको निरीक्षण गरेको छ । टोलीले आज कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेत परिसर भित्र भवन मर्मत तथा निर्माण कार्यको प्रगतिसँगै निरीक्षण एवं निर्देशन दिएको हो । नेपाल टेलिभिजनले रेडियो नेपालको पुरानो भवनलाई मर्मत सम्भार गरि आफ्नो व्यूरो कार्यालय स्थापना गर्न लागेको छ ।

कर्णाली प्रदेश सरकार पूर्वाधार विकास निर्देशनालयका निर्देशक रामशरण आचार्यले पहिलो चरणमा प्रदेश सरकारबाट आएको दश लाख रुपैयाँले अधिकतम् कामहरु तोकिए समय भित्र पुरा गरिने बताए । उता निर्माण ठेकेदार खगेन्द्र रेग्मीले वीचमा अस्कामिक आएको वर्षाले ढिलाई भएपनि अब भवन मर्मत सम्भार तथा निर्माण कार्यलाई छिट्टै पुरा गर्ने प्रतिवद्धता जनाए ।

व्यरो कार्यालय स्थापना तथा सञ्चालनका लागि वार्षिकरुपमै बजेट छुट्टाउन आजै कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डाक्टर गोपीकृष्ण खनाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव आनन्द सारुलगायतसँग नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्र प्रमुख विजय बर्मा, ईन्जिनियर हरि भण्डारी, सुर्खेत सम्वाददाता आकाशतारा बयकलगायतको टोलीले भेट गरेको छ । सुर्खेतमा नेपाल टेलिभिजनको कर्णाली व्यूरो कार्यालय स्थापनापछि प्रदेशका विभिन्न विषयवस्तुको उठानसँगै समाचार संकलन, कार्यक्रम उत्पादन तथा प्रसारणलगायतमा सहजता पुग्ने विश्वास राखिएको छ ।

Translate »