एमाले रचनात्मक प्रतिपक्षको भूमिकामा छ : एमाले उपमहासचिव गुरुङ
स्काई न्यूज /चैत २१, सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एमाले अब सत्ता तोड्ने र जोड्ने खेल भन्दा माथि रचनात्मक प्रतिपक्षको भूमिकामा रहेको बताएका छन् । सुर्खेत विमानस्थलमा मंगलबार प्रेस चौतारी नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव गुरुङले एमाले शालीन तर सशक्त प्रतिपक्षको भूमिकामा बस्ने बताएका हुन् ।
जुम्ला जाने क्रममा सुर्खेत आईपुग्नु भएका एमाले उपमहासचिव गुरुङले राष्ट्रको पक्षमा काम गर्दा शालीन र रचनात्मक तर राष्ट्रिय हितविपरीतको काम हुँदा जुझारु प्रतिपक्ष बन्ने दाबी गरे । सरकारमा जान दायाँबायाँ गरेर पार्लियामेन्ट अस्थिर बनाउने काम नगर्ने भन्दै उनले पार्टी सुदृढीकरण तथा शुद्धीकरणका लागि आफुहरु मिसन ग्रासरुट अभियानमा केन्द्रित रहेको स्पष्ट पारे ।
देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेका बेला भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको उनको भनाइ छ । सरकारले हनिमुन बिताइसके पनि मन्त्रीपरिषद्लाई पूर्णता दिन नसक्दा देशमा अझै राजनीति अस्थिरता खेल कायमै रहेको भन्दै उनले एमालेसामु यस्ता खालका विषयमा रचनात्मक कामहरु गर्ने जिम्मेवारी रहेको जिकिर गरे ।
‘कर्णाली सरकारलाई एमालेले विश्वासको मत दिनु विशेष परिस्थितिको उपज हो,’ उनले भने, ‘राजनीतिमा वस्तुगत परिस्थिति र सन्तुलन हुने भएकाले प्रदेश संसदीय दल र प्रदेश कमिटीले गरेको निर्णय विशेष परिस्थितिको उपज हो ।’ एक फरक प्रशंङ्गमा भीम रावलको विवादबारे उनले ग्रासरुट अभियान र निर्वाचनमा असहयोग भएपछि अहिले मूल प्रवाहमा ल्याउनका लागि वार्ता टोली बनाइएको जानकारी दिए ।