सामुदायिक शिक्षाको गुणस्तर बृद्धि गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सामुदायिक शिक्षाको गुणस्तर बृद्धि गर्नु पर्नेमा जोड दिएका छन् । काठमाडौंमा मंगलबारदेखि सुरु भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भएपनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन नसकेको बताए । ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक सुनिश्चित गरेको छ,’ उनले भने, ‘आधारभूत शिक्षा निःशुल्क र सर्वसुलभ भए पनि कार्यान्वयन भएको छैन ।’

उनले शिक्षाले देशको भविष्य निर्धारण गर्नेसमेत बताए । सभामुख घिमिरेले संघीय शिक्षा ऐन आउन बाँकी रहे पनि भएका कानून पनि प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गरे । ‘भएका कानून कार्यान्वयनमा किन बाधा पुगेको छ ? ठूलो लगानी सदुपयोग किन भएको छैन, लगानीको प्रतिफल किन पाएका छैनौं भनेर तपाईंहरुले छलफल गर्नुपर्छ,’ उनले भने ।

आर्थिक, सामाजिक र साँस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले सार्वजनिक विद्यालयको गुणस्तर कम हुँदा सर्वसाधारणले खर्च कटाएर भए पनि निजी विद्यालयमा छोराछोरी भर्ना गर्नुपर्ने अवस्था आएको बताए । ‘हामी सुधार गर्दछौं, हाम्रो विद्यालय’ नाराका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा देशभरका ७ सय ५३ वटै स्थानीय तहहरुबाट विद्यालय व्यवस्थापन समितिको प्रतिनिधित्व रहेको महासंघका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । रेडियो नेपाल

Translate »