सिस्नो टिप्न गएका २ जना बालिका मृत फेला

चैत २३, रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सिस्नो टिप्न गएका दुई जना नाबालिका मृत फेला परेका छन् । बुधवार सिस्नो टिप्न गएका पुथा उत्तरगंगा–३ घर भएका १० वर्षीय रिमा बुढा र ८ वर्षीय काली बुढा मृत फेला परेका हुन् । दुई जना नाबालिकाको शव भेटिएको प्रहरी प्रवक्ता (डिआइजी) पोषराज पोखरेलले जानकारी दिए । बुधवार सिस्नो टिप्न सेराबाङ गएका उनीहरू रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय लुपर खोलाको भिरमा शव भेटिएपछि अनुसन्धान गर्न नेपालगन्जबाट कुकुर सहितको टिम परिचालन गरिएको छ । ‘नेपाली सेनाको हेलिकप्टरमा तालिम प्राप्त कुकुर घटनास्थलमा परिचालन गरिएको छ’ डिआइजी पोखरेलले भने–‘डिएसपी नेतृत्वको टिम घटनास्थलमा पुगेको छ ।’ पूर्वी रुकुमकी डिएसपी अञ्जना श्रेष्ठ घटनास्थलमा पुगेकी छिन् । अभिभावकले बिहीबार बिहान घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

 

Translate »