नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनद्वारा कार्यालय परिसरभित्र सरसफाई

सुर्खेतमा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको ३३ औं वार्षिक उत्सव तयारी तीव्र

स्काई न्यूज /चैत २४, सुर्खेत । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रादेशिक कार्य समितिले कार्यालय परिसर हाताभित्र सरसफाई गरेको छ । संगठनले आउँदै गरेको आफ्नो ३३ औं वार्षिक उत्सवको अवसर पारेर शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित नेपाल दूरसञ्चार कर्णाली प्रादेशिक कार्यालय र जिल्ला कार्यालय हाता भित्र सरसफाई गरेको हो ।

दिवसलाई अर्थपूर्ण बनाउँदै कर्मचारी हक, हित र अधिकारका लागि संगठनले आफ्ना कार्य समितिका पदाधिकारीदेखि सदस्यहरुलाई विभिन्न रचनात्मक गतिविधिमा संलग्न गराउँदै आएको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रादेशिक अध्यक्ष प्रेमकुमार गिरीले बताए ।

‘कर्मचारी, कम्पनी तथा ग्राहकको बृहत्तर हितको लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा संगठन विगतदेखि नै सचेत र जागरुक रहेकाले रचनात्मक तथा सृजनात्मक कार्यमा आफुहरु निरन्तर जुटिरहेका छौं,’ उनले भने, ‘कम्पनीको समसामयिक अवस्थासँगै आम कर्मचारीहरुको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि संगठन अहिले थप सशक्त ढङ्गले क्रियाशील रहेको छ ।’

उनले चैत २८ गते आयोजना गरिने संगठनको ३३ औं वार्षिक उत्सवको अवसर पारेर सुर्खेतमा सरसफाई, टेवल टेनिस, घैटोफोड प्रतियोगिता, रक्तदान, विपन्न तथा असहाय नागरिकका लागि खाद्यान्न वितरण कार्यक्रम समेत आयोजना गरिएको जानकारी दिए ।

Translate »