कर्णालीलाई जडिबुटीबाटै समृद्ध बनाउन सकिन्छ : सामाजिक मन्त्री पछाई

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेश अध्यक्षमा छविलाल खड्का निर्वाचित ।

स्काई न्यूज /चैत २५, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री टेकराज पछाईले जडीबुटीबाटै कर्णालीलाई आर्थिकरुपले समृद्ध बनाउन सकिने बताएका छन् । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको दोस्रो अधिवेशनको शनिबार सुर्खेतमा उद्घाटन गर्दै उनले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयले जडिबुटी सम्बन्धि एकीकृत कार्यक्रम गरेर आयुर्वेद औषधि उत्पादन एवं विक्री वितरणसँगै रोजगारी सृजना गरेर प्रदेशलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गरेका हुन् ।

जडिबुटी उत्पादन, विक्री वितरण गरि रोजगारी सृजना गर्नका लागि हाल वनसँग सम्बन्धित केही पुरा कानून, ऐनले असहजता देखिएपनि प्रदेश सरकार कानून परिमार्जन गर्न तयार रहेको उनको भनाइ थियो । उनले जडिबुटीको विकासमा प्रदेश सरकारले ध्यान दिन नसकेको गुनासो गर्नुको सट्टा आयुर्वेद क्षेत्रका अभियन्ताहरुले नै जडिबुटीको महत्व, प्रचारप्रसार र विकासमा निरन्तर जुट्न आवश्यक रहेको औल्याए । जडिबुटी, आयुर्वेद तथा आयुर्वेदकर्मीको बृहत्तर हितको लागि सरकारबाट के, कस्तो सहयोग चाहिन्छ आफु र आफ्नो मन्त्रालय हरेक स्तरबाट सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले कर्णालीमा स्वास्थ्य संस्थाहरुमा मर्ज भएका आयुर्वेद कार्यालयहरुलाई अब छुट्टै इकाईको रुपमा विकास गर्न आवश्यक पहल शुरु भईसकेको जानकारी दिए । आयुर्वेद जस्तो पुरानो चिकित्सा पद्धतीको विकासका लागि कर्णालीमा पर्याप्त सम्भावना रहेकाले जडिबुटीको संरक्षण, समवद्र्धन गर्दै प्रदेश सरकार योजनावद्ध रुपले लागि उनको भनाइ थियो ।

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निमित्त निर्देशक डा. शंकर रिजालले कर्णालीमा आयुर्वेद आयुर्वेद चिकित्साको विकासका लागि प्रदेशमा उपलब्ध जनशक्तिलाई जडीबुटीको अनुसन्धान र अन्वेषणमा लगाउन आवश्यक रहेको औल्याए । कर्णाली प्रदेशका १० वटै जिल्लाबाट अधिवेशन सम्पन्न गर्न आएका नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका प्रतिनिधि तथा पर्यवक्षेकले नयाँ कार्यकालका लागि छविलाल खड्काको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेका छन् ।

समाजको उपाध्यक्षद्वयमा लक्ष्मीप्रसाद पाण्डे र अजय केसी, सचिव पुष्पा आचार्य, कोषाध्यक्ष कुमारी शान्ति घिमिरे तथा सदस्यहरुमा तुलसी बयक, राजराम बडुवाल, दिपेन्द्रकुमार उपाध्याय, डम्मर नारायण मण्डल, खड्क विक, खुमाकुमारी केसी, दिपेन्द्र बटाला, ताराप्रसाद गिरी, विन्दुकुमारी थापा, नरेन्द्र विकलगायत रहेको समाजका निवर्तमान अध्यक्ष दिपेन्द्र कँडेलले जानकारी दिए ।

Translate »