पश्चिम सुर्खेतको सडक विकासमा जुट्न कर्णालीका आर्थिक मन्त्री शाहको आग्रह
स्काई न्यूज /चैत २६, सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले पश्चिम सुर्खेतको विकासका लागि हातेमालो गर्न सबै दलका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । निर्माणाधिन मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेत सडकखण्डमा पर्ने पञ्चपुरी नगरपालिकाको विद्यापुरदेखि चौकुने गाउँपालिकाको बल्देसम्मको २२ किलोमिटर सडकको आइतबार अनुगमन गर्दै मन्त्री शाहले सडक पूर्वाधार अभावले पछाडी पारिएको पश्चिम सुर्खेतमा कृषि, पर्यटन, औद्योगिक विकासका लागि सबै पक्षसँग आ–आफ्नो तर्फ बाट सहयोग गर्न आग्रह गरेका हुन् ।
विकास निर्माणका काममा भईरहेको ढिलासुस्तीप्रति असन्तोष व्यक्त गर्दै उनले तोकिएको समय सीमा भित्रै सडक निर्माण पुरा गर्न मदन भण्डारी राजमार्ग आयोजना पक्षलाई निर्देशन दिए । उनले गुणस्तरीय सडक अभावमा पश्चिम सुर्खेतका नागरिकले हाल अनाहकमा पाईरहेको दुःखको अन्त्यका लागि सबै पक्षको सहयोग तथा सद्भाव आवश्यक रहेको औल्याए ।
‘प्राकृतिकरुपमै लोप लाग्दो पश्चिम सुर्खेतको उर्वर हरिया फाँटसँगै खोला नालाले भरिपूर्ण क्षेत्रको विकास नहुनुमा सडक अभाव प्रमुख कारण देखियो,’ उनले भने, ‘अब पश्चिम सुर्खेतलाई सडक सञ्जालबाट जोड्न मदन भण्डारी राजमार्गसँगै कैलालीको चिसापानी–सुर्खेतको गुटु हुँदै अछामको मंगलसेन पुग्ने फास्ट ट्¥याक निर्माणको कामलाई तीव्रता दिन अति आवश्यक देखिन्छ ।’ उनले पश्चिम सुर्खेतामा रहेका चौकुने सिमन्ट कारखाना, लखरपाटा सिमेन्ट कारखाना, वेतन कर्णाली जल विद्युत आयोजना र माथिल्लो कर्णाली जलविद्युत आयोजना सञ्चालनका लागि समेत पहिले सडक पूर्वाधार विकास अपरिहार्य रहेको औल्याए ।
पश्चिम सुर्खेतको समृद्धिका लागि प्रदेश सरकारले मात्र होइन अब स्थानीय जनप्रतिनिधिदेखि संघीय सरकारले समेत विशेष महत्वका साथ पूर्वाधार विकासमा जोड दिन जरुरी रहेको उनको भनाइ थियो । मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौरदेखि बेनिघाट सडकखण्डमा हाल आयोजनाले चौकुने गाउँपालिकाको गुटु खोला, पञ्चपुरी नगरपालिकाको विजु खोला र बराहताल गाउँपालिकाको व्यूरेनी खोलामा पक्की पुल निर्माण पूर्वका काम बाहेक अरु केही गर्न नसकेको प्रति स्थानीय बासिन्दाले दुःख व्यक्त गरेका छन् ।
पश्चिम सुर्खेतको विकासका लागि महत्वपूर्ण मानिएको मदन भण्डारी राजमार्ग आयोजनाले तोकिएकै समयमा बड्डीचौरदेखि बेनिघाटसम्म सडक निर्माण गरिदिए बषौंदेखि अनाहकमा नागरिकले पाउँदै आएको दुःख हटेर जाने स्थानीय समाजसेवी ताराकेशर गौतमले बताए । ‘नागरिकको ठूलो दवावपछि आयोजनाले केही दिनदेखि पञ्चपुरी नगरपालिकाको विद्यापुरदेखि चौकुने गाउँपालिकाको बल्देसम्मको सडकको दुबै किनारामा माटो काट्नेदेखि सम्माउने काम गरिरहेको छ,’ उनले भने, ‘यो ‘गेम चेन्जर’ आयोजनाका सबै प्रक्रिया पुरा भएपनि ठेकेदारले लापर्वाही गरेर तोकिएको समयमा काम पुरा नगरे पश्चिम सुर्खेतका नागरिकले फेरी दु:ख पाउने निश्चित छ ।’
उनले पश्चिम सुर्खेतमा गुणस्तरीय सडक नहुँदा अहिले पनि वर्षातमा हिलाम्मे र गर्मीमा धुलाम्मे हुनु पर्ने बाध्यता अझैपनि नहट्ने अवस्था रहेको बताए । गुणस्तरीय सडक निर्माण तोकिएकै समयमा सम्पन्न गराउन तर्फ हरेक नागरिकको खबरदारी त्यतिकै आवश्यक रहेको उनको भनाइ छ । उनले कमसल र गुणस्तरहिन सडकका कारण सर्वसाधारणले अनाहकमा पारिरहेको दुःख अन्त्यका लागि पनि नागरिक दवाव र खबरदारी आवश्यक रहेको औल्याए ।
हाल मदन भण्डारी राजमार्गको बड्डीचौरदेखि खम्बागाडेसम्मको १२ दशमलव ३ किलोमिटरको काम ठेकेदारको लापरवाहीले अलपत्र परेको छ । २०८१ असार मसान्तसम्म सडक निर्माण गर्नुपर्ने कार्यादेश पाएको जयदेवी कन्सटेक्सन प्रालिले हालसम्म ७ प्रतिशत मात्र भौतिक प्रगति गरेको कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयका निर्देशक रामशरण आचार्यले जनाए । उनका अनुसार बड्डीचौर खम्बागाडेसम्मका लागि ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी जयदेवीले विभिन्न बहाना बनाउँदै हालसम्म निरासाजन काम गरेको छ ।
निर्माण ठेकेदार कम्पनी र पूर्वाधार विकास निर्देशनालय सुर्खेतबीच गत असार १४ गते २०८१ असार २४ गतेभित्र सडक कालोपत्रे सम्पन्न गर्ने गरेर संझौता भएको थियो । गएको साउन ५ गते भव्य तामझामका साथ शिलान्यास गरिएको उक्त सडक संघीय सरकारबाट तत्काल सडक विस्तार र कालोपत्रे हुने नदेखिएपछि कर्णाली प्रदेश सरकार आफैले सडकको कालोपत्रे गर्ने काम शुरु गरेको हो ।
सडक खनिएको तीन दशकपछि कर्णाली प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले डोजर चलाएर निर्माण शुभारम्भ गरेको सडकको हरिविजोग देखेर अहिले यस क्षेत्रका नागरिक आफ्नै भाग्यलाई दोष दिने गरेको पश्चिम सुर्खेतका समाजसेवी तिलकराम अधिकारी बताउँछन् । उनका अनुसार २०५१ सालदेखि सञ्चालनमा आएको यो सडकले कर्णालीलाई सुदूरपश्चिमको डडेलधुरासँग जोड्छ । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेत खण्ड २ सय ३२ किलोमिटर रहेको छ ।
सल्यानको काल्चेदेखि भेडाबारीसम्म सडक कालोपत्रे भइसकेको छ । भेडाबारीदेखि धुलियाविटसम्म मदन भण्डारी राजमार्ग आयोजनाले कालोपत्रेको काम सन्तोजनक गरेको छैन् । धुलियाविटदेखि बड्डीचौरसम्म कर्णाली राजमार्ग पर्छ ।
त्यसपछिको (बड्डीचौर–गुटु–बेनिघाट) सम्म मात्र ९४ किलोमिटर पक्की सडक निर्माण गर्न मदन भण्डारी राजमार्ग आयोजनाले विभिन्न बहाना बनाउँदै आलटाल गर्दै आईरहेको छ । यता मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका प्रमुख शम्भुप्रसाद आचार्यले वनसँग सम्बन्धित वातावरणिय प्रभाव मूल्यांकन जस्ता कानूनी प्रक्रियाले सडक निर्माणमा ढिलाई भएपनि अब तीव्रता दिने बताए ।