सुर्खेतमा ट्राफिकको संध्याकालिन पैदल गस्ती

स्काई न्यूज /चैत २७, सुर्खेत । सुर्खेत सदरमुकाम आसपासका क्षेत्रमा ट्राफिक प्रहरीले संध्याकालिन पैदल गस्ती शुरु गरेको छ । संध्याकालिन  ट्राफिकले सुरक्षित आवागमन एवं ट्राफिक व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले पैदल गस्ती शुरु गरेको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले वीरेन्द्रनगरका विभिन्न स्थानमा चार वटा टोली बनाएर संध्याकालिन पैदल गस्ती परिचालन गरिएको बताएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले पिक आवरमा ट्राफिक चेकजाँचसँगै शान्ति सुरक्षा कायम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले संध्याकालिन गस्ती शुरु गरिएको जनाए ।

उनले वीरेन्द्रनगरमा साना–साना वैकल्पिक सडकहरुको संख्या धेरै भएकाले ट्राफिक चेकजाँच देखेर मापसे गरेकाहरु भाग्न थालेपछि उनीहरुलाई नियम कार्यान्वयन गराउनका लागि समेत पैदल गस्ती गर्नु परेको बताए । ‘साँझ परेपछि विभिन्न स्थानमा मादक पदार्थ सेवन गरेका मोटरसाइकल सवारले हो–हल्ला गर्ने गरेको सर्वसाधारणबाट हामी कहाँ पनि गुनासो आउने गरेको छ,’ उनले भने, ‘समाजमा शान्ति सुरक्षासँगै ट्राफिक व्यवस्थानमा सहजताका लागि चेकजाँचसँगै पैदल गस्ती समेत शुरु गरेका छौं ।’

उनले ट्राफिक सम्बन्धि कुनै जानकारी तथा आवश्यक सूचना दिनु परेमा चौवीसै घण्टा कर्णाली प्रदेश भरीका लागि (हटलाईन) टोल फ्रि नम्वर १०३ सञ्चालनमा ल्याईएको समेत जानकारी दिए । ठूलो स्वरमा आवाज अर्थात स्वरुप परिवर्तन (मोडिफाइ) गरेका मोटरसाइकल चलाउनेहरुलाई समेत नियन्त्रणमा लिएर कार्वाही अभियान शुरु गरिएको उनको भनाइ छ ।

‘सुर्खेत आसपासका क्षेत्रमा संध्याकालिन समयमा प्रायः मादक पदार्थ तथा लागु औषध सेवन गरी मोटरसाइकलसँगै अन्य सवारी साधन चलाउनेहरुबाट सडक दुर्घटना बढी हुने गरेको पाईएको छ,’ उनले भने, ‘कर्णाली प्रदेश भरी सुरक्षित आवागमन एवं ट्राफिक व्यवस्थापनका लागि चेकजाँचसँगै विभिन्न सचेतनामुलक कार्यक्रम गरी दुर्घटना न्यूनिकरणका प्रयास गरिरहेका छौं ।’ उनले सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि सबै सरोकारवालाहरुसँग समन्वय तथा सहकार्यको अपेक्षा समेत राखिएको बताए ।

Translate »