जुम्लामा १३ औँ राष्ट्रपति रनिङ शिल्ड सुरु
चैत २७, जुम्ला । जुम्लामा अन्तर माध्यमिक विद्यालय स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सोमबारदेखि जुम्लामा १३ औँ राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो ।
आठ स्थानीय तह रहेको जुम्लामा प्रतियोगिताका लागि चन्दननाथ नगरपालिका सहित पातारासी, तातोपानी, तिला, हिमा र कनकासुन्दरी गाउँपालिकाका खेलाडी सहभागी भएका छन् । भने,गुठिचौर र सिंजा गाउँपालिकाका खेलाडी सहभागी छैनन् । १२ औँ राष्ट्रपति रनिङशिल्ड गुठिचौर गाउँपालिकामा आयोजना गरिएको थियो । तर यस वर्ष सोही पालिका प्रतियोगितामा सहभागी छैन । आगामी चैत २९ गते सम्म दिन सञ्चालन हुने १३ औँ राष्ट्रपति रनिङ शिल्डको जुम्लाका स्वतन्त्र प्रदेश सांसद देवेन्द्र बहादुर शाहीले उद्घाटन गर्नु भएको छ ।
माध्यमिक विद्यालय स्तरको एक आपसमा सम्बन्ध विकास तथा खेल क्षेत्रको प्रवर्द्धन गर्नका लागि राष्ट्रपति रनिङशिल्ड कोशे ढुङ्गा सावित हुने सांसद शाहीको भनाई छ ।
पालिका स्तरमा प्रतिस्पर्धा गरी उत्कृष्ट भएका खेलाडी राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएका छन् । महिला पुरुष भलिबल, दौड, हाईजम, लम्जम, सटफुट लगायतका खेलहरूको प्रतिस्पर्धा हुने छ । खेल अवधिभरको शान्ति सुरक्षालाई थप मजबुद र व्यवस्थित बनाइने सहाय प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए। उनले भने, ‘खेलाडीले उत्कृष्ट खेल सँगै अनुशासन पनि प्रदर्शन गर्नुपर्छ । अधिकांश क्षेत्रमा यस्ता प्रतियोगिता हुँदा झैझगडा हुने गर्छन् । खेललाई मर्यादित बनाउन खेलाडी अनुशासित हुन जरुरी छ । सुरक्षा व्यवस्था मजबुद गरिने छ ।’
प्रतियोगिताको उद्घाटन सत्रमा सबै पालिकाका प्रमुख, खेल प्रशिक्षक शिक्षक तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । भने, १३ औँ राष्ट्रपति रनिङ शिल्डको मुख्य आयोजक चन्दननाथ नगरपालिका,खेलकुद विकास समिति जुम्ला र सह–आयोजक चन्दननाथ मावि प्रायोजकका सिम्पल र जीपि स्टेशनरी जुम्ला रहेका छन् । रेडियो नेपाल