प्रभु बैक सुर्खेतको बेइमानीले आईएमईबाट पठाएको रकम लिन सेवाग्राहीलाई सास्ती

स्काई न्यूज/ चैत २७, सुर्खेत । सुर्खेतमा प्रभु बैंकको ढिलासुस्तीले आईएमईबाट आफैले पठाएको रकम लिन दिनभरी सास्ती भोग्नु परेको छ । भारत प्रवासबाट आफैले आईएमई मार्फत पठाएको रकम लिन सोमबार प्रभु बैंकको सुर्खेत शाखामा आएका जिल्लाको बराहताल गाउँपालिका–९, घोडाआँखेका १२ जना मजदूरले विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सास्ती भोग्नु परेको हो । ती मजदूरहरुले भारतमा मजदूरी गरी कमाएको रकम डिलबहादुर विकको नाममा आईएमई मार्फत स्वेदशमा पठाएको भएपनि लिनका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी, प्रभु बैंक सुर्खेतका प्रबन्धकदेखि राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीलाई समेत हारगुहार गर्नु परेको छ । मजदूरका ठेकेदार डिलबहादुरले २ लाख ६६ हजार रुपैयाँ आईएमई मार्फत नेपाल पठाएको रकम प्रभु बैंक सुर्खेतबाट निकाल्न खोज्दा विभिन्न बहाना बनाएर दिनभरी सास्ती दिइएको बताईएको छ ।

डिलबहादुरका अनुसार आफैले रेमिट्यान्स मार्फत प्रभु बैंकको सुर्खेत शाखामा पठाएको रकम बैंकले नदिएपछि विभिन्न सरोकारवाला निकायसँग हारगुहार गर्नु परेको हो । ‘प्रभु बैंकको सुर्खेत शाखामा मेरो खाता हुँदाहुदै नयाँ खाता खोल्न वा केवाईसी भर्ने नाममा दिनभरी हैरानी र सास्ती दिईएको छ,’ उनले भने, ‘मैले भारतबाट पठाएको रेमिट्यान्स केही दिन अझै बैंकमा रहोस् भन्ने मनसायले प्रभु बैंकले मलाई दुःख दिएको हो ।’ उनले प्रभु बैंक सुर्खेत शाखाले रेमिट्यान्स मार्फत पठाएको रकम समयमा नदिँदा शहरबाट गाउँ जानका लागि अग्रीम भुक्तानी गरेको रिजर्व हाईस गाडी समेत छोड्नु परेको जनाए । प्रभु बैंककै हैरानी र सास्तीका कारणले अन्त्यमा ४ बजे पछि दोब्बर भाडा तिरेर अर्को नयाँ हाईस गाडी रिर्जव गरेर गाउँ पुगेको उनले स्काई न्यूजलाई जानकारी दिए ।

थप जानकारी लिन स्काई न्यूज सम्वाददाताले प्रभु बैक सुर्खेत शाखा प्रबन्धक पदम अधिकारीसँग सोध्दा राष्ट्र बैंकको पछिल्लो ७ दिन यता जारी गरेको नयाँ नियमले रेमिट्यान्स मार्फत १ लाख भन्दा कम रकम पठाउनेले समेत बैंकमा खाता खोल्नु पर्ने अनिवार्य नियम बनाएपछि सेवा दिन ढिलाई भएको बताए । उनले राष्ट्र बैंकद्वारा कडाई गरिएका कारणले आम सेवाग्राहीलाई दुई दिन समय लाग्ने रेमिट्यान्स सेवा तपाईको आग्रहमा एकै दिनमा रकम भुक्तानी गरिएको जनाए । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा राष्ट्रिय उपभोक्ता मञ्च मार्फत फोनबाट उजुरी गर्दा समेत प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले उल्टै प्रभु बैंकको प्रबन्धको पक्षमा मौन सर्मथन गरेको सेवाग्राही डिलबहादुरको आरोप छ ।

उनले रेमिट्यान्स मार्फत पठाएको पैसा लिन दिनभरी हैरानी र सास्ती भोग्न बाध्य पार्ने बैकका कर्मचारीलाई कार्वाही गर्नुको सट्टा प्रमुख जिल्ला अधिकारी सापकोटाले संरक्षण गरेको आरोप लगाए । यता राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश संयोजक आकाशतारा बयकले अनाहकमा निर्दोष सेवाग्राहीको साथ भद्धा मजाक गरि कानूनको वर्खिलाप गर्ने जोकोहीलाई सत्यतथ्य छानविन गरि हदैसम्मको कार्वाही हुनु पर्नेमा जोड दिए । उनले निमुखा नागरिकलाई अनावश्यक हैरानी र सास्ती दिने जस्तोसुकै शक्ति र पहुँचवाला भएपनि कानून अनुसार कार्वाहीको दायरा भित्र ल्याउन सरकारसँग माग गरे ।

Translate »