बाल संसद् अभ्यास : कर्णालीका बालबालिकालाई ‘सांसद’ देखि प्रधानमन्त्री’ सम्म बनाइयो
स्काई न्यूज /चैत २८, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लाका बालबालिकाको क्षमता विकास गर्नुका साथै नेपालको संसदीय व्यवस्थालाई बुझाउन बाल संसद् अभ्यास कार्यक्रम आयोजना गरिएको छ । संघीय बाल संसद कार्यक्रम अन्तर्गत संघीय संसद सचिवालयले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको नमूना संसद अभ्यास कार्यक्रममा कर्णालीका बालबालिकाले प्रधानमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्ष दलका सांसदको भूमिका निभाएका छन् । उनीहरुले सदनमा कर्णालीमा रहेको छाउपडी जस्ता कुप्रथा, बालविबाह, विकास निर्माणका कार्यहरु, देशको समसामयिक राजनीतिक घटनाक्रम, बालअधिकारलगायतका विषयमा आआफ्ना धारणा तथा प्रश्नहरु राखेका थिए ।
सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रिपरिषद् गठन गरिएको थियो । बाल संसद् अभ्यासका प्रशिक्षक रमेश पौडेल र वीरेन्द्रबहादुर कार्कीले सदनमा सहभागीहरुले मर्यादित भएर आफ्ना कुरा कसरी राख्ने, सत्तापक्ष र विपक्षीबाट प्रश्न आउँदा कसरी जवाफ दिनेलगायतका कुरा सिकाएका थिए । संसदीय व्यवस्थामा जनताको नाममा प्रवाह हुने सेवाका बारेमा जानकारी दिन बाल संसद् अभ्यासले धेरै सहयोग पुग्ने संघीय संसद सचिवालयका सचिव डा. भोजराज पाण्डेको भनाइ छ । उनले नमूना बालबालिका संसदीय अभ्यास अत्यन्तै उपलब्धिमुलक तथा बालबालिकालाई नेतृत्व विकास गर्ने एउटा महत्वपूर्ण कार्यक्रम भएको जनाए ।
चार दिवसीय नमूना बाल संसद अभ्यास कार्यक्रम मार्फत नेपालको संसदीय अभ्यासबारे जानकारी गराउने तथा नेतृत्व विकास गर्ने उद्देश्य रहेको संसद सचिवालयका उप–सचिव बबिता मिश्रले बताईन् । उलने कर्णालीबाट शुरु भएको नमूना बाल संसद अभ्यास कार्यक्रम देशका अन्य प्रदेशमा समेत सञ्चालन गरिने जानकारी दिईन् । नमूना संसद अभ्यास कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका २१ विद्यालयबाट ५० जना बालबालिकाहरुको सहभागिता रहेको कार्यक्रमका सह आयोजक यूनिसेफका वरिष्ठ सामाजिक विशेषज्ञ ठाकुर ढकालले जानकारी दिए ।
बालबालिकालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ तथा भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि नमूना संसदीय अभ्यास प्रभावकारी रहेको मित्र समाजका टीम लिडर विनयदिल लामाले बताए । सहभागिहरुका अनुसार यस कार्यक्रम मार्फत राज्य, देशको संविधान, सरकारको प्रशासनिक तथा राजनितिक प्रणालीहरुका बारेमा विष्तृत ज्ञान लिन पाएको बताएका छन् । कार्यक्रममा संसदीय अभ्यास गर्दै गर्दा आफुमा भाषण कला, आत्मबल तथा राज्य र राजनीतिक ज्ञान–सिपको विकास भएको महसुस भएको कालिकोटबाट आएका विद्यार्थी कल्पना आचार्यले बताईन् । कार्यक्रम यूरोपियन यूनियन, यूनिसेफ, तथा यूएनओमेनको आर्थिक सहयोगमा आयोजना गरिएको हो ।