कम्पोष्ट-प्राङ्गारिक मल बजारमा

रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले लामो समयको अनुसन्धान र परीक्षणपछि गुणस्तरीय र दुर्गन्धरहित कम्पोष्ट (प्राङ्गारिक) मलको व्यावसायिक उत्पादन बजारमा ल्याएको छ ।

रासायनिक मलको आयातलाई प्रतिस्थापन गरी माटोको उर्वरा शक्तिलाई जोगाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने सन्दर्भमा कम्पोष्ट मल उपयुक्त विकल्प हुने प्रालिका प्रबन्ध निर्देशक उषा गिरीले दाबी गरे । जापानी प्रविधिमा आधारित उक्त मलको प्रयोगपछि बालीनालीमा कीटनाशक औषधि आवश्यकता नपर्ने भएकाले जनस्वास्थ्य र वातावरणमैत्री रहने उनले बताए ।

खाद्यान्न बाली, फलफूल र तरकारी रासायनिक मलको प्रयोगसरह नै उत्पादनको लाभ लिन सकिने जनाउँदै प्रालिले यसको प्रयोगले अबौं विदेशी मुद्रा सञ्चितिमा योगदान पुग्ने बताएको छ । सिन्धुलीको दुधौली, भक्तपुरको ठिमी, काभ्रेको पाँचखाल र दाङको राप्ती नगरपालिकासँग सहकार्य गरी उक्त प्रालिले कम्पोष्ट मलका लागि शाखा विकास र विस्तार अघि बढाउँदै आएको छ ।

घाँस, घरायसी फोहर, रातो माटो, भुस, ढुटोजस्ता जैविक सामग्रीबाट तयार गरिने कम्पोष्ट प्राकृतिक र जैविक मल हो । रासायनिक मलको तुलनामा कम्पोष्टको प्रयोग माटोको उर्वरा शक्ति बढाउने तथा माटोलाई खुकुलो बनाएर उत्पादन र लागतका हिसाबले आकर्षक विकल्प रहने देखाएको छ ।

सम्पूर्ण स्वदेशी कच्चा पदार्थको प्रयोग हुने भएकाले निकै सस्तो रहने प्रालिका संस्थापक किरणप्रकाश साखःले जनाए । उनले भने, ‘रासायनिक मलको तुलनामा निकै लाभदायी र सस्तोमा कम्पोष्ट उपलब्ध हुन्छ, अन्नबालीमा रोगव्याधि र किरा नलाग्ने हुँदा ढुक्क भएर प्रयोग गर्न सकिन्छ ।’

‘सरकारले रासायनिक मललाई दिँदै आएको अनुदानको केही अंश उपलब्ध गराएमा किसानलाई मल सित्तैमा उपलब्ध गराउन सक्छौं,’ संस्थापक साखःले भने । उक्त प्रविधिबाट बस्तुभाउको गोबरलाई नवीनतम् प्रविधि अपनाएर गरिने प्रयोगले बाली तथा बोट बिरुवामा किराको सङ्क्रमण कम हुने दाबी गर्दै संस्थापक साखःले कृषि प्रधान देशमा मलका लागि भौँतारिनुपर्ने अवस्था अन्त्यका लागि यो प्रयास र प्रयत्न अघि बढाएको बताए ।

काठमाडौं उपत्यकालगायतका सहरबाट सङ्कलन गरिने ८० प्रतिशत फोहरलाई मलमा परिणत गर्न सकिने बताउँदै प्रालिले बालीनालीका लागि कम्पोष्ट मल नेपाली भान्सामा थकाली खानाजस्तै रहेको जनाए । अहिले रासायनिक मलका लागि सरकारले वार्षिक रु सात अर्बभन्दा बढी अनुदान दिँदै आएको छ भने मुलुकले तरकारीलगायतका बालीनालीमा लाग्ने रोग र किरा नियन्त्रणका लागि वार्षिक एक हजार एक सय टनभन्दा बढी विषादी आयात गरिरहेको छ ।

कम्पोष्ट मलको प्रयोगले रासायनिक मलको आयात घटाउन र मुलुकमा कृषि उत्पादन बढाउन योगदान पुग्ने प्रालिको दाबी छ । काठमाडौं उपत्यकाको फोहर सहजरूपमा प्राप्त गरेमा प्रालिले दैनिक पाँच सय टन कम्पोष्ट मल तयार गर्ने क्षमता राखेको सो अवसरमा जानकारी दिइयो । रासस

Translate »