अमर ज्योतिका पूर्व शिक्षक ढकालको भव्य अभिनन्दन

स्काई न्यूज /चैत २९, सुर्खेत ।  नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतले वीरेन्द्रनगर–१२, नेवारे स्थित अमर ज्योती माध्यमिक विद्यालयका सेवा निवृत्त शिक्षक कुमारबहादुर ढकालको अभिनन्दन गरेको छ । संगठनले आफ्नो ३७ औं जिल्ला परिषद् तथा ४४ औं शिक्षक दिवसको अवसर पारेर मंगलबार एक कार्यक्रमका वीच सेवा निवृत्त शिक्षक ढकाललाई भव्य अभिनन्दन गरेको हो ।

ढकालले जिल्लामा शिक्षक संगठनको पेशागत हक, हित तथा अधिकारका लागि संगठनले उठाएका विभिन्न संघर्षका कार्यक्रममा आफ्नो जीवनकालमा सक्रियरुपमा क्रियाशील रहेको भन्दै अभिनन्दन गरेको छ । संगठनका पूर्व जिल्ला कार्य समिति सदस्य समेत रहेका ढकालको सेवा निवृत्त जीवन थप रचनात्मक तथा क्रियाशीलताको कामनासहित कर्णाली प्रदेश सभाका सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल, संगठनका जिल्ला अध्यक्ष डिलाराम भण्डारी, सचिव दलबहादुर शाहीले सम्मान पत्रसहित अभिनन्दन गरेका छन् ।

यता सेवा निवृत्त ढकालले आफ्नो शेष जीवनभर रचनात्मक क्रियाशीलतालाई निरन्तरता दिँदै शिक्षक हक, हित तथा अधिकारका लागि सगठनको मार्गदर्शनलाई अनुसरण गरिरहने प्रतिवद्धता व्यक्त गरे ।

Translate »