जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ जोड्ने सडक निर्माणमा ढिलाई

बैशाख २, जुम्ला । जुम्ला सहित चार जिल्ला जोड्ने सडक निर्माणमा ढिलासुस्ती भएको छ । विगत सात महिना यता निर्माण व्यवसायीले म्याद थपको माग गर्दै काम नगरेपछि (जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ) चार जिल्ला जोड्ने सडक निर्माणमा ढिलाइ भएको हो ।

उक्त सडक चार वटा निर्माण सेवा मार्फत विभिन्न प्याकेजमा काम हुँदै आएको थियो । गत असोज १९ देखि २५ गते सम्म भएको अविरल वर्षापछि आएको बाढी पहिरोले जुम्लामा यातायात करिब २० दिन बन्द हो ।

जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ सडक विस्तार तथा निर्माणको काम गरिरहेका चार वटै निर्माण सेवाको अन्तिम म्याद असोजसम्म मात्रै थियो । वर्षापछि आएको बाढी पहिरोले कर्णाली राजमार्ग करिब २० दिन पूर्ण अवरुद्ध हुँदा जुम्लामा विशेषगरी इन्धन, डिजेल पेट्रोलको चरम अभाव भएको थियो । जसका कारण निर्माण व्यवसायीले सडक निर्माणको काम गर्न सकेनन् ।

खरिद ऐनले सम्झौता समय भित्र काम नभएको ठेक्काको म्याद थप्न नमिल्ने, काम सम्पन्न नभई भुक्तानी गन नसक्ने कानुनी बाध्यता सडक डिभिजनलाई जुम्ला छ । भने,हाल सम्म भएको कामको भुक्तानी पाउनु पर्ने तथा विपद् अवधिभरको म्याद थप भए मात्रै बाँकी काम अघि बढाउने निर्माण व्यवसायीको अडानका कारण पछिल्लो समय (जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ) जोड्ने सडक निर्माणमा ढिलाइ भएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र विष्टले बताउनुभयो ।

भुक्तानी नदिएसम्म निर्माण व्यवसायीले काम अघि बढाउने स्थिति देखिएन । प्रमुख विष्ट भन्छन्,“काम पुरा नभई भुक्तानी दिन मिल्दैन । सम्झौता मिति असोजमै सकियो । म्याद थप्न हामीले चाहेर हुँदैन । बरु हामी म्याद थपका लागि सहजीकरण गरिदिन सक्छौ । तर पछिल्लो खरिद ऐनले सम्झौता मितिभित्र काम नसकिएको खण्डमा म्याद थप्न मिल्ने व्यवस्था छैन ।’

‘जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ) सडक निर्माणका लागि विभिन्न प्याकेजमा काम गरिरहेका (काश्यप निर्माण सेवा, अर्घाखाँची महेश जेभी, आशापूर्ण निर्माण सेवा र आर.एन.बी. विल्डरस) गरी चारै निर्माण सेवाका ठेकेदारहरू म्याद थपका लागि मन्त्रिपरिषद् सम्म पुगेका छन् ।

म्याद थप हुने वा नहुने बारे मन्त्रिपरिषद्कै निर्णय कुरिरहेको र सक्दो सहजीकरण पनि गरिरहेको डिभिजन प्रमुख विष्टले जानकारी दिए ।

काश्यप निर्माण सेवाले ५ करोड ९१ लाख,अर्घाखाँची महेश जेभीले ४ करोड ८२ लाख ,आशापूर्ण निर्माण सेवाले ५४ लाख ६१ हजार र आर.एन.बी विल्डरसले ६१ लाखमा (जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ) सडक निर्माण,विस्तार तथा स्तरबृद्धिको ठेक्का सम्झौता भएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले जानकारी दिए ।

उनका अनुसार चार निर्माण कम्पन्नीसंग ११ करोड ८९ लाखको ठेक्का सम्झौता भएको छ । भने, म्याद थपका पहल भइरहेको र मन्त्रिपरिषद्को निर्णय समेत कार्यालय तथा निर्माण व्यवसायी कुरिरहेका छन् ।

जुम्लादेखि डोल्पाको मौरेलेक सम्म ४३ किलोमिटर दुरी रहेको उक्त सडक निर्माणले जुम्ला–डोल्पाको व्यापार प्रवर्द्धन तथा मनाङ मुस्ताङ हुँदै जुम्ला डोल्पामा पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने विश्वास छ । समयमै काम नगर्ने, गैरजिम्मेवार निर्माण व्यवसायीका कारण (जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ) सडक योजना जस्तै जुम्लामा दर्जनौँ सडक योजना अलपत्र छन् । रेडियो नेपाल

Translate »