विद्यालयको ५५ लाख हिनामिना

प्रधानाध्यापक र लेखापालले हिनामिना गरेको व्यवस्थापन समितिको आरोप

बैशाख ३, रुकुम पश्चिम । रुकुम पश्चिमको पुरानो शैक्षिक संस्था मुसीकोट नगरपालिका–१ खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयमा प्रशासन र व्यवस्थापन समितिबीच विवाद चुलिएको छ । आर्थिक अनियमितता गरेको भनेर व्यवस्थापन समितिले विद्यालयका प्रधानाध्यापक र लेखापाललाई स्पष्टीकरण मागेपछि विवाद सतहमा आएको थियो ।

गत साढे एक वर्षयता विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्कबापत ८९ लाख ४८ रुपैयाँ उठाएकोमध्ये ५५ लाख ७३ हजार रुपैयाँ बैंक दाखिला नगरी प्रधानाध्यापक र लेखापालले हिनामिना गरेको व्यवस्थापन समितिको निष्कर्ष छ । यस विषयमा गत चैत १४ को समितिको बैठकले प्रधानाध्यापक हरिप्रसाद खनाल र लेखापाल ठकहादुर बुठाथोकीलाई स्पष्टीकरण माग्ने निर्णय गरेको अध्यक्ष नरेन्द्र केसीले बताए । उनका अनुसार यसै निर्णयका आधारमा चैत १६ मा दुवै जनालाई ७ दिनको समय दिई स्पष्टीकरण माग गरेकामा त्यसको जवाफ आएको छैन । बैठक लुकाएको र आफूविरुद्धमा नियोजित ढंगले लागेको आरोपसहित प्रधानाध्यापक खनालले प्रशासनमा उजुरी गरेको अध्यक्ष केसीको भनाइ छ ।

सात दिनभित्र स्पष्टीकरण नदिएको भन्दै व्यवस्थापन समितिले प्रधानाध्यापकबाट खनाललाई हटाएर निमित्त प्रधानाध्यापकसमेत तोक्ने प्रक्रिया अघि बढाएपछि विवाद झन् गहिरिएको छ । विद्यालय व्यवस्थापन समितिले भने स्पष्टीकरणको जवाफ नआएको बताउँदै खनालको कार्यकाल सकिएको दाबी गरेको छ । ‘उनको ५ वर्षको कार्यकाल गत चैत २५ देखि सकियो, यसकारण अर्को प्रधानाध्यापक नतोकिएसम्म निमित्तका लागि सिफारिस गरेका छौं,’ अध्यक्ष केसीले भने, ‘प्रधानाध्यापकविना विद्यालय प्रशासन चलाउन कठिन हुने भएका करण चैत २८ को बैठकले निमित्त प्रधानाध्यापकका रुपमा शिक्षक गोपिराम खड्कालाई सिफारिस गरेको छ ।’विद्यालय व्यवस्थापन समितिअन्तर्गत गत साउन १६ मा अर्थ व्यवस्थापन उपसमिति गठन गरी उक्त समितिले ६ महिना लगाएर तयार गरेको प्रतिवेदनमा विद्यालयको आर्थिक पाटो अपारदर्शी भएको उल्लेख गरेको छ । उक्त प्रतिवेदनले औंल्याएका कमी–कमजोरीलाई सुधार गरी अघि बढ्नुपर्नेमा विषय अन्तै मोड्न खोजिएको व्यवस्थापन समिति अध्यक्ष केसीको भनाइ छ ।

उक्त प्रतिवेदन नै झुटो भएको भन्दै खनालले व्यवस्थापन समिति निरंकुश भएको आरोप लगाएका छन् । जिल्ला प्रशासनमा अध्यक्षविरुद्ध उजुरी परेका विषयमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले यो विषय गोप्य रहने भन्दै बोल्न नमिल्ने बताए । विद्यालयको निमित्त प्रधानाध्यापक नियुक्त गर्ने विषयमा व्यवस्थापन समितिको बहुमतको निर्णय आएकोले सिफारिस अनुसार खड्कालाई जिम्मेवारी दिने निर्णय भएको मुसीकोट नगरपालिकाको शिक्षा शाखाका निमित्त प्रमुख नरेन्द्र ओलीले बताए । (इकान्तिपुर)

Translate »