मुगुमा पहिलो पटक अदालती विवाह

बैशाख ३, मुगु । मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, संस्कृति तथा रीतिरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।

सोरु गाउँपालिका–७ सिपगाँउका ७० वर्षीय प्यारीलाल काफ्ले र खत्याड गाउँपालिका–४ जिउका गाउँका ४२ वर्षीय जानकी रोकायाबीच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो । आफूहरुबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताए ।

विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गरे । न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिए ।

काफ्लेकी श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद गरेका थिए । दुवै जनाको सहमति र साक्षीहरूको उपस्थितिमा अदालती विवाह सम्पन्न भएको जिल्ला अदालत मुगुका श्रेष्तेदार गोविन्द आचार्यले बताए ।

७० वर्षको उमेरमा अदालती विवाह गरेपछि गमगढी बजारमा नयाँ जोडी हेर्नेको भिड लागेको थियो । रासस

Translate »