कर्णाली प्रदेश सभाको बैठक स्थगित
अब वैशाख सात गते दिउँसो तीन बजे बस्ने
बैशाख ३, सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ । बैशाख ३ गते सोमबार दिउँसो तीन बजे बस्ने गरी तोकिएको प्रदेश सभाको बैठक स्थगित भएको हो ।
आज दिउँसो एक बजे प्रदेश सभामा बसेको सर्वदलीय वैठकमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले सदन सार्ने प्रस्ताव पेश गरेका थिए ।
हिजो नेपाली काँग्रेस र माओवादी केन्द्रबीच सत्ता सहकार्यका बारेमा आधिकारिक निर्णय भएसँगै मन्त्री छान्ने तयारी गर्न काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मासँग सदन पर सार्नेबारे सहमति गरेका थिए ।
सदन अब वैशाख सात गते दिउँसो तीन बजे बस्ने भएको छ । उक्त दिन मुख्यमन्त्री शर्माले सरकार विस्तार गरेर तेस्रो पटक विश्वासको मत लिने सम्भावना रहेको छ ।