कोरोना संक्रमणबाट एक जनाको मृत्यु , १०४ जनामा संक्रमण

बैशाख ४, काठमाडौँ । कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
आजै एक सय चार नयाँ सङ्क्रमित थपिएका हुन् । पाँच सय ७१ पिसीआर तथा एक हजार ६१ एन्टिजेन परीक्षण गरी जम्मा एक हजार छ सय ३२ नमूना परीक्षणमा एक सय चार जनामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा अहिले कोरोना सङ्क्रमित ३४ आइसोलेसन, सात जना आइसियु र तीन जना भेन्टिलेटरमा रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७९ रहेका छन् ।

राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले बढ्दो कोरोनाको जोखिम न्यूनीकरणका लागि मन्त्रालयले विभिन्न तयारी गरिरहेको जानकारी दिएका थिए। परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाको प्रमुख डा अभियान गौतमले भने, ‘हामीसँग भएको फाइजर बुस्टर डोजको ३० लाख मात्रा मध्ये अहिले तीन लाख मात्र मौजाद छ ।
बाँकी सबै स्थानीयमा खोप वितरण भएर खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।’ डा गौतमले खोप लगाउन छुटेका व्यक्तिलाई केन्द्रमा राखेर खोप अभियान सञ्चालन भइरहेको भन्दै नजिकैको स्वास्थ्य केन्द्रबाट छुटेका सबैलाई पहिलो, दोस्रो र बुस्टर खोप लगाउन आग्रह गरेका छन् । रासस