बाँकेमा लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ प्रविधि

'१० गुणा बढी उत्पादन'

बैशाख ५, बाँके । लहरे तरकारीको उत्पादन बढाउन यहाँका किसानले लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ (3G Cutting) प्रविधि अपनाएका छन् ।

कृषि ज्ञान केन्द्र, बाँकेका बागवानी अधिकृत रामप्रकाश यादवले किसानले लहरे तरकारी बालीमा यो प्रविधि अपनाएको जानकारी दिए । लहरे तरकारी बालीमा भाले फूलभन्दा पोथी फूलको सङ्ख्या बढाएर उत्पादन बढाउन ‘थ्री जी कटिङ’ प्रविधि उपयोगी मानिन्छ ।

उनले कृषिबारे अध्ययन गरेका अगुवा किसान यस प्रविधिमा आकर्षित भएको बताए । ‘अधिकांश अगुवा किसानले यस्तो प्रविधिमा चासो दिनुभएको छ’, उनले भने ।

बागवानी अधिकृत यादवले किसानले प्रयोग गर्ने मल (Fertilizer), सिँचाइको प्रबन्ध र कीटनाशक औषधिको प्रयोगका आधारमा यस प्रविधिबाट ६ देखि १० गुणासम्म बढी उत्पादन लिन सकिने बताए ।

जिल्लाको डुडुवा गाउँपालिका–४ र ५, खजुरा गाउँपालिकाका केही वडाका किसानले यो प्रविधि अपनाएका छन् । ‘बाँकेमा लहरे तरकारी बालीमा यसलाई नयाँ प्रविधि मानिएको छ,’ उनले भने ।

जिल्लामा सबैभन्दा पहिले  टमाटरमा यो प्रविधि अपनाइएको उनले बताए । उनका अनुसार बाँकेमा करिब चार वर्षदेखि किसान (Farmer)ले यो प्रविधि अपनाएका छन् । खजुरका किसान पदम रानाले अहिले लौकामा यो प्रविधि अपनाइएको बताए । लौकामा सो प्रविधि प्रभावकारी भएको उनको अनुभव छ ।

उनले उत्पादन बढाउन मल र सिँचाइ (Irrigation)को व्यवस्थापनसँगै फल समयमा नै टिप्न सुझाए । साथै उनले एउटै लौकाको पातबाट तीन फल लाग्ने जानकारी दिए ।

यो प्रविधिबाट तरकारीको उत्पादन १० गुणासम्म बढी हुन सक्ने बताइएको छ । बिरुवाको तेस्रो पुस्ताको हाँगामा फल फलाउने विधिलाई ‘थ्री जी कटिङ’ प्रविधि भनिन्छ । रासस

Translate »