एसिसी प्रिमियर कप : नेपालको सहज जित


काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले सुखद शुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार सम्पन्न उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्याे ।
२३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमा २३७ रन बनायो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ७१ रन बनाए । यस्तै, कुशल मल्ल ७० रनमा अविजित रहे । कप्तान रोहित पौडेलले ४२ रनको योगदान दिँदा कुशल भुर्तेलले ३८ रनको पारी खेले ।
बलिङमा मलेसियामा मुहम्मद वाफिक, रिजवान हैदर, विरन्दीप सिंह र विजय उन्नीले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन जोडेको थियो । कप्तान अहमद फैज र विरनदीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको थियो । फैजले टिमका लागि सर्वाधिक ७६ रन बनाउँदा सिंहले ४६ रनको योगदान दिएका थिए ।
बलिङमा सन्दीप लामिछाने र सोमपाल कामीले समान ३ विकेट लिँदा ललित राजवंशीले २ र गुल्सन झाले १ विकेट चट्काए ।
प्रतियोगिताको उपाधि विजेता टोली सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एशिया कपमा छनोट हुनेछ ।

