सरकारलाई रचनात्मक सहयोग गर्न एमाले तयार छ : उपाध्यक्ष नेम्वाङ

बैशाख ५, सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सरकारलाई नेकपा एमाले जति बेलापनि रचनात्मक सहयोग गर्न तयार रहेको बताएका छन् ।

मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको संगठन सुदृढीकरण तथा विस्तार कार्यक्रम अन्तर्गत बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले जनताको हितमा आवश्यक कुनैपनि कानून निर्माणका लागि नेकपा एमाले सरकारलाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।

देश र जनताको हितका लागि नेकपा एमाले जिम्मेवार प्रतिपक्षको भूमिकामा क्रियाशील रहेको बताउँदै संघीय संसदले विजनेस नपाउँदा त्यतिकै समय व्यतित भईरहेकाले आफ्नो जिम्मेवारी पुरा गर्न सरकार अगाडि आएमा एमाले हरेक स्तरबाट सहयोग गर्न तयार रहेको उनले जिकिर गरे ।

‘अहिले संसदमा नेताहरु जाने आफ्ना कुराहरु राख्ने, देश र जनताका समस्याहरु राख्ने जस्ता कामहरु भएपनि संसदले विजनेस नपाउँदा महत्वपूर्ण कानून बनाउनेदेखि विकास निर्माणले गति लिन सकेको छैन्,’ उनले भने ।

उनले अविकसित र पिछडिएको कर्णाली भन्ने कुरालाई मुक्त बनाएर विकासको दिशामा अगाडि बढाउने जिम्मेवारी एमालेको भएको बताए । कर्णालीमा समृद्धि ल्याउन सक्ने पार्टी नेकपा एमाले मात्रै भएको जानकारी जनता वीच पु¥याउन उनले कार्यकर्तासँग आग्रह समेत गरे ।

‘कुनैपनि प्रकारको जिम्मेवारी जतिबेला पनि नेकपा एमालेको काँधमा आउन सक्ने भएकाले कार्यकर्तालाई तयारी अवस्थामा रहनु होला,’ उनले भने, ‘सवै प्रकारका चुनौती र बाधा अड्चनका वीचपनि नेता, कार्यकर्तालाई तयारी अवस्थामा राख्न देशभर ‘मिशन ग्रासरुट’ कार्यक्रम ल्याउनु परेको हो ।’

‘मिशन ग्रासरुट’ कार्यक्रम कर्णालीमा तुलनात्मकरुपले प्रभावकारी रहेकोको भन्दै उनले कार्यक्रमलाई सफल बनाउन जुट्ेका नेता तथा कार्यकर्तालाई समेत हार्दिक बधाईसहित धन्यवाद व्यक्त गरे । कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ‘मिशन ग्रासरुट’ अभियानले मुलुकमा तरंग पैदा भएको बताए ।

‘राजनीति स्थायित्वका लागि एमालेलाई पहिलो पार्टी बनाउन दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन महत्वपूर्ण उपलब्धीका रुपमा लिन सकिन्छ,’ उनले भने, ‘विभिन्न दलको घेरबन्दी र जालनेलले यस पटक सोचेजस्तो परिमाण नआएपनि आउँदो निर्वाचनमा कार्यकर्ताको मन जितेर बलियो पार्टी बन्नेमा हामी विश्वस्त छौं ।’

एमाले सरकारमा रहँदा मुलुकको आर्थिक अवस्था अनुकुलमा रहेको जिकिर गर्दै उनले १२ महिनामा वर्तमान गठबन्धन सरकारले शोधान्तरण स्थिति पौने तीन खर्ब रुपैयाँ घाटामा पु¥याएको जनाए ।

उनले एमाले सरकारमा रहँदा मुद्रा स्थिति ५ प्रतिशत भन्दा मुनि रहेकोमा वर्तमान सरकारले ९ प्रतिशत पु¥याउने काम गरेको बताए ।  नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धन सरकारले अनुचित र अवान्छित तरिकाले वजेट निर्माणका बेला व्यापारीका एजेण्डा राखेर कर को दर हेरफेर गरेपछि अहिले उत्पन्न आर्थिक संकट त्यसको उपज भएको जानकारी दिए ।

‘व्यापारीसँगको साँठगाँठमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धन सरकारले गरेको आर्थिक अपराधको मूल्य आम नागरिकले उठाउनु परिरहेको छ,’ उनले भने, ‘सरकारले नै गरेका अनुचित आर्थिक क्रियाकलापकै कारणले मौद्रिक तरलता र आर्थिक मन्दी भएको हो ।’

बृहत् कार्यकर्ता भेलालाई सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई, यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्बाहाम्फेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

Translate »