आज आमाको मुख हेर्ने दिन

सुर्खेत । आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । मातातीर्थ मेलाका अवसरमा आज केही स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका छन् ।

प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने गरिन्छ । अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।
कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास समेत रहेको छ ।