आज नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवस


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसका अवसरमा नेपालका कम्युनिस्ट पार्टीहरूले शनिबार देशैभरी विविध कार्यक्रम आयोजना गर्दै छन् ।
२००६ वैशाख १० गते तद्नुरुप २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ बर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो ।
कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रुपमा उपस्थित थिइनन् ।
विक्रम संवत् २००६ मा भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएक थिए । त्यसअघि २००५ चैत २३ गते उनले ‘कम्युनिस्ट घोषणापत्र’ को नेपाली अनुवाद प्रकाशन गरेका थिए ।
नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सामान्तवाद, दलालनोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो ।

कम्युनिस्ट पार्टीका दोस्रो महासचिव मनमोहन अधिकारी बने । तेस्रो महासचिव तुलसीलाल अमात्य बने । यसबीचमा कांग्रेस नेतृत्वमा रहेको सरकारले २०११ सालमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध समेत लगाएको थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो ।
तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर पन्चायती व्यवस्था लागु गरेपछि नेपाल कम्युनिस्ट पार्टी पुनः प्रतिबन्धित भयो । त्यसक्रममा केशरजंग रायमाझी पक्षले पन्चायती व्यवस्थाको समर्थन गरेपछि कम्युनिस्ट पार्टी बिभाजन भयो ।
स्थापनाकालदेखि नै विवादमा परेको कम्युनिस्ट पार्टी त्यसयता एकीकरण र मातृपार्टी कम्युनिस्ट विचारधाराबाट विचलित भएको भन्दै फुटको शृङ्खला चल्दै आएको छ।
कम्युनिस्ट पार्टीमा पहिलो पटक केशरजङ्ग रायमाझीका कारण २०१९ सालमा फुट आएको थियो । त्यसपछि टुट्ने र फुट्नेक्रम अहिलेसम्म रोकिएको छैन । कम्युनिस्ट पार्टीलाई एक बनाउने अभियान समय–समयमा गरिएका पनि छन् । मिल्ने अनि केही समयपछि फुट्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई नै धराशयी पारेको छ ।
निर्वाचन आयोगमा कम्युनिस्टकै नाममा दर्ता भएका पार्टी मात्र १४ वटा छन् । आयोगमा दर्ता भएका कुल दलको यो १२.५ प्रतिशत हो । नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रम मनाइदैछ । अनलाईनरेडियो

