स्थानीय स्तरमै स्याउका बिरुवा उत्पादन, कृषकलाई सहज


मुगु । कर्णाली प्रदेशको मुगु जिल्लामा स्थानीय स्तरमै स्याउको बिरुवा तयार पारी बिक्री वितरण हुन थालेपछि त्यस भेगका कृषकहरूलाई बिरुवा पाउन सहज भएको छ ।
विगतका वर्षहरुमा जिल्ला बाहिरबाट स्याउका बिरुवाहरू खरिद गरी ल्याउनुपरेकोमा अहिले स्थानीय स्तरमै बिरुवा तयार हुँदा कृषकहरूलाई आर्थिक व्ययभार पनि कम पर्ने गरेको जिल्ला कृषि ज्ञान केन्द्र मुगुले जनाएको छ । जिल्ला कृषि ज्ञान केन्द्र मुगुले अनुदानमा कृषकहरूलाई फलफूलका बिरुवा वितरण गर्दै आएको छ ।

मुगुको ताल्चा क्षेत्रका स्थानीय कृषकले व्यवसायीक रूपमै बिरुवा उत्पादन गर्न थालेपछि केन्द्रले कृषकबाट बिरुवा खरिद गरी आवश्यक पर्ने अन्य कृषकहरूलाई अनुदानमा उपलब्ध गराएपछि सहज भएको हो । स्थानीय स्तरमा उत्पादित बिरुवा बिक्री हुन थालेपछि आफूहरू बिरुवा उत्पादनतर्फ प्रोत्साहित भएको कृषक अमर बहादुर मल्ल र मायालक्ष्मी भामले प्रतिक्रिया दिए। स्थानीय रुपमा बिरुवा उत्पादन हुन थालेपछि नर्सरी गर्ने कृषकका लागि पनि आम्दानीको राम्रो श्रोत बनेको छ । रेडियो नेपाल

