सुर्खेतमा नेकपाको ७४ औं स्थापना दिवस मनाईयो


बैशाख ९, सुर्खेत । सुर्खेतका वामपन्थी नेताहरुले कम्युनिष्ट क्रान्तिकारी एवं वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरण हुन आवश्यक रहेको औल्याएका छन् । समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा शनिबार मदन भण्डारी स्पोट्र्स एकेडेमी सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले शुभकामना दिँदै उनीहरुले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन कम्युनिष्ट एकता आवश्यक रहेको बताएका हुन् ।

वर्गसंघर्ष र विचारधारात्मक संघर्षको लामो श्रृखला एवं विभाजन र एकताका अनगिन्ती अनुभव हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको स्मरण गर्दै नेकपा एमाले कर्णाली प्रदेश सदस्य टेकेन्द्र बस्नेतले नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व र पहलकदमीमा भएको ऐतिहासिक संघर्षकै परिणामस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि समाजवाद ल्याउनका लागि कम्युनिष्ट एकजुट आवश्यक रहेको जनाए ।


मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तेजविक्रम बस्नेतले नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पु¥याउन कम्युनिष्ट एकता आवश्यक रहेको औल्याए । कार्यक्रममा बहुमुखि क्यामपस सुर्खेतका स्वतन्त्र विद्यार्थी यूनियनका सभापति अक्कलबहादुर सिजापति, मदन भण्डारी स्पोट्र्स एकेडेमीका जनक चौधरी, ईश्वर हमाल, अर्जुन खनेल, चेतन आचार्य, विनोद बोहरालगायतले आ–आफ्ना भनाई राखेका थिए ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीले सुर्खेतमा पहिलो पटक आउँदो बैशाख २२ गते राष्ट्रिय रेसलिङ्ग प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ । एकेडेमीले कर्णाली प्रदेश स्तरीय अन्तर माध्यमिक विद्यालय फुटसल प्रतियोगिता जेठको ३ देखि ५ गतेसम्म, भलिवल बैशाख २८ गतेदेखि जेठ २८ गतेसम्म, फुटवल बैशाख २७ गतेदेखि जेठको २९ गतेसम्म आयोजना गर्ने बताएको छ ।


