गन्तव्यतर्फ लाग्यो विमान फ्लाइ दुबई

काठमाडौं । काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा आगो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरणको तयारी गरिएको फ्लाई दुबईले दुबईको उडानलाई निरन्तरता दिएको छ ।  इन्जिनमा समस्या भएपछि कामाठाडौंतर्फ फर्किएको विमान फेरि दुबईतर्फ गएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन् ।

फ्लाइट नम्बर एफजेट ५७६ सो विमानमा सुरुमा इन्जिनमा समस्या आएको बताएपछि काठमाडौंं डाइभर्ट गरिएको र अहिले दुबईतर्फ फर्किएको विमानस्थलका प्रवक्ता सिटौलाले जानकारी दिए ।

नागकिर उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको बताए । प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको बताएका छन् । उनले अब चिन्ता लिनपर्ने अवस्था नरहेको बताएका छन् । ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नुहोला । सबैलाई शुभयात्रा’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

Translate »