जनताले देख्ने गरि सरकारले काम गर्नु पर्छ : अध्यक्ष नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशलाई समृद्ध बनाउन उपलब्ध साधनस्रोतको अधिकतम् प्रयोग गरि जनताले देख्ने गरि काम गर्न सरकारलाई सुझाव दिएका छन् । बुधबार सुर्खेतको वीरेन्द्रनगरमा एकीकृत समाजवादी कर्णाली प्रदेश प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भ्रष्टाचार, महँगी नियन्त्रण तथा सबै खाले विकृतिबाट टाढा रहँदै पूर्ववर्ती सरकार भन्दा भिन्न काम गरेर देखाउन सुझाव दिएका हुन् ।

उनले पछिल्लो समय गठबन्धन दलहरु वीच आपसी समझदारी कमजोर हुँदा सद्भाव मात्र होइन, सरकारप्रति नै शंका, आशंकाहरु उत्पन्न भईरहेको बताए । दलहरु वीचको समझदारी र मर्म विपरित कर्णालीमा आफ्नो दललाई उपेक्षा गरिए गठबन्धनको भविष्य नै खतरामा पुग्ने उनले चेतावनी दिए ।

‘कर्णालीमा माओवादीको दम्भ र घमन्डले हाम्रा साथीहरु धेरै दुःखी हुनुहुन्छ । सरकारमा एकलौटी गरिएको छ । गठबन्धन टिकाउने कुरा भइरहँदा हाम्रो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, पीडा दिइएको छ । यसले गठबन्धन धरापमा पर्नसक्छ । मैले मनको पीडा पोखेको हुँ,’ उनले पत्रकारहरुसँग भने, ‘हामी गठबन्धन टिकाउने कुरा गरिरहेका छौं । तर, यता हामीलाई नै बाइपास गरेर पीडा दिने काम भईरहेको छ । यो राम्रो भएन । यसले गठबन्धन नै धरापमा पार्न सक्छ ।’

कर्णालीमा माओवादी केन्द्रको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले आफू निकै मर्माहत भएको बताए । आफूहरुले देश विकास र परिवर्तनको पक्षमा अग्रसर हुनुपर्छ भनिरहेको र माओवादीहरु घमण्डमा चलिरहेको उनको आरोप थियो । अध्यक्ष नेपालले एउटा पाटो मात्र हेरेर मूल्यांकन नगर्न र आफूहरुले गरिरहेको योगदानलाई नबिर्सन माओवादी केन्द्रसँग आग्रह गरे ।

आफ्नो पार्टी नेपालको राजनीतिको एउटा महत्वपूर्ण पक्ष रहेको बताउँदै उनले अप्ठ्यारो परेका बेला र पार्टीभित्रबाट चुनौती आउँदा पनि गठबन्धन निर्माणमा खेलेको भूमिकालाई नबिर्सन समेत सुझाव दिए ।

Translate »