‘क्यान्टोनमेन्ट हिनामिना’ मा अनुसन्धान गर्न अख्तियारले खुट्टा कमायो : ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुट्टा कमाएको बताएका छन् ।

बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले ‘क्यान्टनमेन्टमा भएको अनियमितता’ मा अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरे । बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको समेत अध्यक्ष ओलीको आरोप छ । अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचारबाहेक अरु हुनै उनले नसक्ने दाबी गरे ।

नेकपा (माओवादी केन्द्र) को सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको उनको भनाइ छ । ओलीले भने ‘अब पछिल्लो समयमा त लडाकुलाई बाँड्ने भनिएको छ, घाइते अपांग, के के किस्ता किस्तामा भनिएको छ, अहिलेको सरकार दुई लाख बाँड्ने भनेको छ, अर्थतन्त्र यस्तो छ, कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था छ, बहिर्गमित लडाकुलाई बाँड्ने भनेर एकलौटी निर्णय गरेको छ, माओवादी केन्द्र जसले सरकारको नेतृत्व गरेको छ, उहाँहरु बलजफ्ती निर्णय गराउने र ५० हजार कार्यकर्तालाई दिने, बाँकी आफैं लिने कामका लागि सुरु हुँदैछ, क्यान्टनमेन्टका सवालमा त्यस्ता कुराहरु पहिला पनि धेरै भएका छन् ।’

अध्यक्ष ओलीले क्यान्टोनमेन्ट प्रकरणका फाइल अख्तियारले होल्ड गरेर बसेको समेत दाबी गरे । उनले अगाडि भने, ‘ क्यान्टनमेन्टका नभएका मानिसहरूका पैसा बुझिएको छ, राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो, जोसुकैले गरेको होस्, त्यसको बारेमा कोही पनि बोल्न तयार छैनन् । राज्यको ढुकुटी रित्याएर अर्बौं पैसा कुम्ल्याउन मिल्छ ? यी कुराहरू भएका छन्, आज होइन, पहिलादेखि नै हो । अख्तियारले होल्ड गरेर बसेको छ, म भन्न चाहन्छु, राज्यको यत्रो अर्बौंको हिनामिनाको छानबिन गर्नुस्, खुट्टा नकमाउनुस्, किन खुट्टा कमाएर बस्नुहुन्छ । यस्ता संस्थाहरू राजनीति प्रतिशोधका अस्त्र बनाउने ?’

अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताए । ‘भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने ?’ भन्ने हिसाबले चलखेल भइरहेको ओलीको दाबी छ । ई–कान्तिपुर

Translate »