नक्कली भुटानी शरणार्थी प्रकरण : फरार नेता टोपबहादुर रायमाझी पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
प्रहरीले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबारसाँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए। उनले भने, ‘हाम्रो टोलीले उनलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ।’
वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए । प्रहरीले खोजी गरिरहँदा बुधबार रायमाझीले संसद् सचिवालयलाई आफू बिरामी भएको पत्र पठाएका थिए ।
सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् ।