‘सक्कली शरणार्थीहरु भने गैरनागरिक भएर बाँचिरहेका छन्’
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको प्रकरणमा ‘हाइप्रोफाइ’का व्यक्तिहरू धमाधम तानिइरहँदा सक्कली शरणार्थी भने गैरनागरिक भएर बाँच्नुको पीडाले उठी सुख, न बसी सुखको अवस्थामा छन् ।
दशकौंसम्म शरणार्थीको दर्जा नपाउँदा उनीहरुको दैनिकी नै प्रभावित हुँदै आएको छ । यूएनएचसीआरले नेपालबाट एक लाख १३ हजार भन्दा धेरै भुटानी शरणार्थीलाई विभिन्न आठवटा देशमा पुनर्वासको सहजीकरण गरेको थियो । त्यसमध्ये झन्डै एक लाख शरणार्थी अमेरिका पुनर्वास भएका छन् । अझै हजार बढी शरणार्थी झापाको बेलडाँगीमा आश्रय लिएर बसेका छन् ।
नक्कली शरणार्थीका नाममा अरबौंको गोरखधन्दा चलिरहँदा सक्कली शरणार्थीले भोगेको अवस्था हो । त्यसो त नेपालमा रहेका भुटानी शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ मा नै सम्पन्न भइसकेको थियो । पुनर्वासको मौका पाएर पनि माटोको मायाले जान नचाहेकाहरु बाँच्दा शिर लुकाउने र मर्दा चिहान सुरक्षित गरिदिन माग गरेको बताउँछन् ।
सक्कली शरणार्थी भने नेपाल सरकारले नागरिकता दिने विश्वासका साथ शिविरमै बसिरहेका छन् । पाका उमेरका थुप्रै शरणार्थी तेस्रो देश नजाने भनेर शिविरमै बसिरहेका छन् । पुनर्बास गएका आफन्तहरूले पठाएको सामान्य खर्चका भरमा उहाँहरूको दैनिकी चलेको छ । रकम तिरेर शरणार्थी बनिरहेको सुन्दा आफूहरू छक्क परेको शिविरका शरणार्थीले बताएका छन् ।
पुनर्वास प्रकरणमा चलखेल भएको सुनेका यहाँका सक्कली शरणार्थी ५ जना मान्छे साक्षी राखेर फारममा आफूहरुको फोटो टाँसेर लगेको र हाल उक्त फोटो झिकेर नक्कली शरणार्र्थीको फोटो टाँसी अमेरिका पठाएको आशंका गर्छन ।
विगत २५ वर्ष देखि ३५ वर्षअघिदेखि शिविरमा आश्रय लिएर बस्दै आएका भुटानी शरणार्थीहरुका अनुसार संस्थाले दिदै आएको रासन पानी हाल बन्द गरेपछि उनीहरुको जीवन सकसपूर्ण बन्दै गएको छ । भूटानी शरणार्थीको बेइज्जत गरी राष्ट्रदोह गर्नेलाई सख्त कारवाही हुनुपर्ने उनीहरुको माग छ । ईमेज खबर