डेनिस रेडक्रसले सुर्खेतमा जलवायु परिवर्तनले पारेको प्रभावका बारेमा जानकारी लियोे
सुर्खेत । इन्टरनेशनल कन्सलटेन्ट फर डेनिस रेडक्रसले सुर्खेत जिल्लामा जलवायु परिवर्तनले पारेको असर तथा रोकथामका लागि हाल गरिएका प्रयासहरुको बारेमा जानकारी लिएको छ ।
नेपाल रेडक्रस सोसाईटी सुर्खेत शाखाका पदाधिकारीसँगै गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुसँग मंगलबार वीरेन्द्रनगरमा इन्टरनेशनल कन्सलटेन्ट फर डेनिस रेडक्रसले सुर्खेत जिल्लामा विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि पूर्व तयारीको बारेमा जानकारी लिएको हो ।
इन्टरनेशनल कन्सलटेन्ट फर डेनिस रेडक्रसका समाधि सेलेना मारले आफु अहिले कर्णाली प्रदेशका सुर्खेत, दैलेख र कालिकोटमा जलवायु परिवर्तनले पारेको प्रभाव, रोकथाम, नियन्त्रणसँगै तत्कालिन एवं दिर्घकालिन व्यवस्थापनका प्रयाहरु तथा आगामी योजनाहरुका बारेमा जानकारी लिन आएको बताईन् ।
उनले जलवायु परिवर्तनका असरहरु मुख्यरुपमा कुन समुदाय, क्षेत्र एवं कस्ता प्रकृतिका विपद्हरुको साम्ना गर्नु परिरहेको बारेमा कार्यक्रमका सहभागिहरुको धारणा लिएकी थिईन् ।
‘सुर्खेत जिल्लामा विपद् आउने वित्तिकै सबै भन्दा पहिले कुन समुदायका नागरिकसँगै कुन क्षेत्र बढी जोखिम हो । त्यहाँ अहिले अवस्था कस्तो छ ,’ उनले प्रश्न गरिन् ?, ‘विपद् पछि कसरी उद्दार, राहतसँगै व्यवस्थापन पक्ष कसले गरि दिन्छ । सरकार तथा गैरसरकारी प्रयासहरु कस्ता छन ।’
उनले आगामी वर्ष भित्र विपद् जोखिम न्यूनिकरणका लागि के कस्ता योजना र रणनीति बनाएर सरकारी तथा गैरसरकारी संस्थाहरु अघि बढेको जिज्ञासा राखेकी थिईन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सुर्खेतका सभापति रामलाल आचार्यले जिल्लामा विपद् व्यवस्थापनमा सरकारी तथा गैरसरकारी विभिन्न एलायन्स एजेन्सीहरुसँग सहकार्य तथा समन्वय गरेर रेडक्रस अघि बढिरहेको बताए । उनले जिल्लामा आफुहरु उपलब्ध साधनस्रोतको अधिकतम् परिचालन गरेर विपद् प्रतिकार्य रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा जुटेको जनाए ।
रेडक्रस विपद्बाट प्रभावित समुदायको तत्काल उद्दार, राहत तथा व्यवस्थापनसँगै सर्वेक्षण जस्ता कार्यहरु गर्दै आईरहेको उनको भनाइ थियो । जिल्लामा विपद्बाट सबै भन्दा बढी अपाङ्ग तथा अशक्त महिला, बालबालिका तथा बृद्धबृद्धाहरुले भोग्नु परिरहेको कार्यक्रमका सहभागिहरुले बताएका थिए ।
सहभागिहरुले जलवायु परिवर्तनको असर सुर्खेतका पश्चिम गाउँहरुमा बढी देखिन थालेको इन्टरनेशनल कन्सलटेन्ट फर डेनिस रेडक्रसलाई जानकारी दिए ।
उनीहरुका अनुसार पश्चिम सुर्खेतमा सडक पूर्वाधारसँगै विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत विकास हुन नसक्दा विपद्मा उद्दार, राहत तथा व्यवस्थापनमा समस्या हुँदै आएको छ ।
जिल्लाका चौकुने, पञ्चपुरी र बराहतताल विपद्को उच्च जोखिममा रहेकाले त्यस क्षेत्रमा गर्नुपर्ने आपत्कालिन प्रति कार्यका लागि पूर्व तयारीको अवस्था समेत कमजोर रहेको सहभागिहरुको भनाइ थियो ।
इन्टरनेशनल कन्सलटेन्ट फर डेनिस रेडक्रसले मंगलबार नै नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश समितिका पदाधिकारीहरुसँग जलवायु परिवर्तनले पारेको प्रभाव तथा विपद् व्यवस्थापनका बारेमा जानकारी लिएको प्रदेश सभापति लिलाराम सुवेदीले जानकारी दिए ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा डेनिस रेडक्रसका सिनियर प्रोग्राम अफिसर सुभद्रा देवकोटा तथा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय विपद् व्यवस्थापन विभागका कार्यक्रम संयोजक विनिता ढुङगेलले जलवायु परिवर्तनको असरका बारेमा कर्णालीसँगै सुदूरपश्चिम प्रदेशको कैलाली, लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा समेत अध्ययन तथा सुझाव संकलन गरिने जानकारी दिईन् ।