विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्यो वीरेन्द्रनगरको-१४, नम्वर वडा कार्यालय

सुर्खेत । यसवर्षको मनसुन शुरु हुनै लाग्दा सम्भावित जोखिम हुनसक्ने भएकाले वीरेन्द्रनगर नगरपालिकाका वडाहरुले विपद् व्यवस्थापनको तयारी शुरु गरेका छन् । वीनपा–१४, नम्वर वडा विपद् व्यवस्थापन समितिले ‘विपद् व्यवस्थापन’ विषयक छलफल कार्यक्रममा वर्षायाम सुरु हुनै लाग्दा विपद्को सम्भाव्य जोखिम क्षेत्रमा रहेको हुँदा विपद्को व्यवस्थापनमा जुट्न नेपाल रेडिक्रस सोसाइटी कर्णाली प्रदेश सभापति लिलाराम सुवेदीले जनप्रतिनिधिलाई अनुरोध गरेका हुन् । उनले विपद् व्यवस्थापन कोषमा पर्याप्त रकम विनियोजन गरी विपद् व्यवस्थापनसम्बन्धी आवश्यक सामग्री खरिद गर्ने, मौज्दात राख्ने र परिचालन गर्ने नीतिगत निर्णय बनाउन सुझाव दिए ।

वर्षाका कारण स्थानीय भूक्षय, पहिरो, कच्ची सडक, राजमार्ग तथा वडा जोड्ने मार्गमासमेत क्षति हुनसक्ने भएकाले डोजर÷जेसिवी लगायतका मेसिनरी र तिनका चालक तथा वडा ‘टास्र्क फोर्स’ लाई तयारी अवस्थामा राख्न नेपाल रेडक्रस सोसाईटी सुर्खेत जिल्ला सभापति रामलाल आचार्यले अनुरोध गरे । उनले वीरेन्द्रनगरको १४ नम्वर वडामा बेला–बेलमा घटिरहने विपद्जन्य घटनाको न्यूनीकरण गरी जनधनको क्षतिलाई कम गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।

वडा विपद् व्यवस्थापन समितिमार्फत भएका निर्णयलाई कार्यान्वयन गर्दै सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणमा सतर्कता अपनाउने कार्य शुरु भईसकेको वीनपा–१४ नम्वर वडा सचिव अस्मिता मल्लले जानकारी दिईन् । उनले विशेष गरी गतवर्ष जोखिम देखिएका वस्ती तथा क्षेत्रहरू र यसवर्ष जोखिम हुनसक्ने सम्भावित क्षेत्र पहिचान गरी थप सजगता अपनाउने कार्य जारी राखिएको बताईन् ।

वीरेन्द्रनगर नगरपालिका–१४ नम्वर वडा अध्यक्ष देवबहादुर रोकायले विपद् व्यवस्थापनका लागि यस वर्ष प्रभावकारी कार्यक्रम बनाईएको जनाए । रोकायले मनसुनजन्य पूर्व तयारीका लागि केही दिनमै नगरपालिकासँग समन्वय गरेर थप बजेटको व्यवस्थापन गरिने बताए । विपद् व्यवस्थापनका लागि रकम खर्च गर्ने कार्यविधि बनाएर ‘टाँस्क फोर्स’ टोलीलाई वर्षायामभरी तयारी अवस्थामा राखिने उनको भनाइ थियो ।

राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाश तारा बयकले मनसुनजन्य विपद् निकट आइसकेको हुँदा सबै चनाखो हुनुपर्ने औल्याए । उनले विपद् पूर्व तयारीका लागि वडाहरुलाई विशेष अधिकारसहितको बजेटको व्यवस्था हुनुपर्नेमा जोड दिए । विपद् व्यवस्थापनमा जनप्रतिनिधिहरुले स्वास्थ्य, सरसफाइ र खानेपानीमा विशेष ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

Translate »