प्रधानमन्त्री व्यस्त भएपछि मुख्यमन्त्रीहरूको बैठक स्थगित

पोखरा । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीको आयोजनामा पोखरामा बुधबार हुने तय भएको सातै प्रदेशका मुख्यमन्त्रीको बैठक स्थगित भएको छ ।  तत्कालका लागि ‘अन्तर प्रदेश मुख्यमन्त्री बैठक’ स्थगित गरिएको गण्डकीका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले प्रेस विज्ञप्तीमार्फत जानकारी दिए ।

संसद अधिवेशन चलिरहेको र बजेटको तयारीले प्रधानमन्त्री व्यस्त भएपछि बैठक तत्काललाई स्थगित गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीका प्रवक्ता रमेश घर्तीले जानकारी दिए । प्रदेशका समस्या, संघ सरकारले दिनुपर्ने अधिकारका विषय प्रधानमन्त्रीसँग राख्ने गरी गण्डकीका मुख्यमन्त्री पाण्डेको पहलमा बैठक आयोजना गरिएको थियो ।

प्रधानमन्त्री नभए पनि मुख्यमन्त्रीको बैठक गर्न समस्या थिएन । तर, प्रधानमन्त्रीलाई आफ्ना समस्या सुनाउँदा फलदायी हुने भएकाले उनकै अनुकूलता मिलाएर बैठक गर्ने गण्डकीका मुख्यमन्त्री पाण्डेको योजना छ ।

अब असारअघि बैठक हुने सम्भावना निकै कम छ । बजेट प्रस्तुत गरेपछि प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० सम्म भारत भ्रमणमा जाने तयारीमा छन् । असार १ मा प्रदेश सरकारले पनि बजेट ल्याउनुपर्ने भएकाले मुख्यमन्त्री स्वयं व्यस्त हुन्छन् । त्यसो हुँदा प्रदेश सरकारको बजेट आउनुअघि बैठक हुने सम्भावना निकै कम देखिएको छ ।

Translate »