नेपाल भारतसँग पराजित, सेमिफाइनलमा कजाकस्तानसँग खेल्ने
काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा नेपाललाई पराजित गर्दै भारत काभा महिला भलिबल च्यालेन्जकप २०२३ को समूह ‘ए’ विजेता बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा सम्पन्न खेलमा भारतले ३-१ को रोमाञ्चक जित निकाल्यो ।
प्रतिस्पर्धात्मक खेलमा नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि ब्लक र डिफेन्समा अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालले हार टार्न सकेन ।
निर्णायक बनेको चौथो सेटमा नेपाल अन्तिम समयमा लगातार पाँच अंक गुमाउँदा चार अंकले पछि पर्यो । रिसिभ र ब्लकमा सटिक देखिएको भारतले चौथो सेट २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
त्यसअघि तेस्रो सेटमा पहिलो पटक नेपालले १९-२३ बनाएर चार अंकको अग्रता लिएको थियो । तर, प्रगति नाथले सर्भिस कोर्टमा राख्न नसक्दा अंक २०-२३ मा पुगेको थियो । यद्यपि, सरस्वती चौधरीले चतुर्याईँपूर्वक अंक जितेपछि नेपाल सेट प्वाइन्ट नजिक पुगेको थियो ।
फेरि एक पटक भारतको सशक्त स्पाइक नेपालले उठाउन नसक्दा अंक २१-२४ मा पुगेको थियो । यद्यपि, भारतको सर्भिस आउट भएसँगै नेपालले तेस्रो सेट २१-२५ ले आफ्नो पक्षमा पार्यो । नेपालले तेस्रो सेट जित्दा निरुता ठगुन्नाले सर्वाधिक ६ तथा सरस्वती चौधरीले चार अंक जोडेकी थिइन् ।
दोस्रो सेटमा भारतलाई कठिन चुनौती दिएको नेपालले २६-२४ ले सेट गुमाउनु पर्यो । प्रतिस्पर्धात्मक सेटमा नेपालले पटक-पटकको अग्रता जोगाउन नसक्दा नजिक पुगेर पनि सफल भएन ।
राम्रो सुरुआत गरेको नेपालले १३-१६ को अग्रता बनाएको थियो । अन्तिम समयमा २१-२३ को अग्रता जोगाउन नसक्दा नेपालले भारतलाई तीन अंक दिएरमात्र एक अंक लिन सक्यो । सोही अंकसँगै २४-२४ मा पुगेको खेलमा भारतले निरन्तर दुई अंक जोड्दै २-० सेटको अग्रता बनायो ।
त्यसअघि पहिलो सेटमा हतास देखिएको नेपालले राम्रो सुरुआत गर्न सकेन । संगम महतोले क्विक स्पाइकमार्फत सेटको दोस्रो अंक जोड्दै १-१ बराबरी गराएकी थिइन् ।
तर, त्यसपछि डिफेन्स र ब्लकमा निरीह बनेको नेपालविरुद्ध भारतले लगातार अंक जोड्दै अग्रता ११-२ मा पुर्याएको थियो । त्यसपछि सम्हालिन नसकेको नेपालले २५-१२ ले पहिलो सेट आफ्नो पक्षमा पार्यो ।
जितसँगै भारत समूह ‘ए’को विजेता बनेको छ । सुरुआती दुई खेलमा जित निकालेका भारत र नेपाल सेमिफाइनलमा पुगिसकेका छन् । नेपालले समूह ‘बी’को विजेता कजाकस्तानसँग खेल्ने छ ।
त्यस्तै भारतले समूह ‘बी’को उपविजेता उज्वेकिस्तानको सामना गर्नेछ ।
नेपालले १३औं दक्षिण एसियाली खेलकुदमा पहिलो पटक भारतविरुद्ध दुई सेट जितेको थियो । यद्यपि, सम्हालिन नसक्दा ऐतिहासिक जित निकाल्न असफल भएको थियो । अन्नपूर्ण पोष्ट