प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेट, बोआओ फोरमबारे दिएको अभिव्यक्तिप्रति राजदूतको आपत्ति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । बिहीबार बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

राजदूत छन् सोङले बोआओ फोरम सहभागी नहुनुको कारणबारे सदनमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीसँग आपत्ति जनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले गत मंगलबार चिनियाँ राजदूतकै आग्रहमा बोआओ फोरममा सहभागी नभएको अभिव्यक्ति दिएका थिए ।

सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिसभा बैठकमा चिनियाँ राजदूतकै कारण बोआओ फोरममा सहभागी नभएको बताएका थिए ।

‘उत्तरले बोआओ फोरममा निम्ता गरेको पक्कै पनि हो । तर त्यहाँ नजाने भनेर नेपाल सरकारले निर्णय गरेको होइन । माननीय सदस्यहरूलाई प्रस्ट होस्, बरु चिनियाँ राजदूतले नै यहाँको राष्ट्रपति र उपराष्ट्रपति चुनावको दबाब, गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि सरकारको अफ्ठ्यारो बुझेर तपाईँ बोआओ फोरममा जान सम्भव देखिरहेको छैन । अलि पछि गरौं कि चीन भ्रमण भनेपछि मैले उहाँलाई मर्का बुझिदिनुभएको धन्यवाद भनेको थिएँ,’ उनले भनेका थिए ।

स्रोतका अनुसार राजदूत छन् सोङ बिहान १० बजे प्रधानमन्त्री निवास पुगेका थिए । उनीहरूबीच करिब एक घण्टा सघन छलफल भएको स्रोतको भनाइ छ ।

यसैबीच प्रधानमन्त्री प्रचण्ड बजेट लगत्तै भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतीय मिडियासँगको अन्तर्वार्तामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने बताएका थिए ।  अन्नपूर्ण पोष्ट

Translate »