अवरुद्ध संसद् बैठक खुलाउन सिंहदरबारमा शीर्ष नेताहरूको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा तीन ठुला दलका शीर्ष नेताहरूको भेटवार्ता सुरु भएको छ । संसद्को अवरोध खोल्ने विषयमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’, नेपाली काग्रेंसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने विषयमा अनियमितता भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आधारहीन आरोप लगाएको भन्दै एमालेले शुक्रबार सदन अवरुद्ध पारेको थियो । जेठ १५ गते बजेट ल्याउनु पर्ने सरकारलाई नीति तथा कार्यक्रम पास गर्नुपर्ने संवैधानिक दायित्व छ ।

संसद् अवरुद्वहुँदा नीति तथा कार्यक्रम पास गर्न अप्ठ्यारो भएसँगै प्रधानमन्त्री दाहालले अवरुद्ध संसद् खुलाउन पहल गरेका हुन् । आज दिउँसो चार बजे संसद्को बैठक बस्दै छ । बैठकमा प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममाथि उठेका सांसदहरूको प्रश्नको जवाफ दिने कार्यक्रम छ ।सिंहदरबारमा जारी बैठकमा नेपाली काग्रेंसका उपसभापति एवं रक्षा मन्त्री पुर्णबहादुर खड्का, पार्टी सचेतक रमेश लेखक,माओवादी केन्द्रका उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पार्टी सचेतक हितराज पाण्डे र नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी लगायतका नेताहरुकोसमेत सहभागिता छ ।

Translate »