पूर्वी सुर्खेतको बोटेचौरमा शीत भण्डार निर्माण कार्य अन्तिम चरणमा
सुर्खेत । कृषिजन्य उत्पादनलाई बढावा दिन कर्णाली प्रदेश सरकारको लगानीमा निमार्णाधीन शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनको अन्तिम तयारीमा रहेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका बोटेचौरमा निर्माण गरिएको ८५ मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणको ८० प्रतिशत काम सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा रहेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
निर्देशनालयको १ करोड ५० लाख, ६७ हजार १ सय ८२ रुपैयाँ, गुर्भाकोट नगरपालिकाको १० लाख र श्री कोटमाझ खर्क सामुदायिक कृषि शीत भण्डारको १० लाख गरि कुल १ करोड ७० लाख ६७ हजार १ सय रुपैयाँमा शीत भण्डार निर्माण हुन लागेको कृषि विकास निर्देशनालयका ईन्जिनियर अक्षय शाहीले बताए । उनले शीत भण्डार सञ्चालनका लागि १ सय केभीको ट्रान्सफर्मर जडान गरि टिओडी मिटर र पीटी लगाउने काम मात्र बाँकी रहेको जनाए । उनका अनुसार ३०/३० मेट्रिक टनका दुई वटा, १५ मेट्रिक टनको एउटा र १० मेट्रिक टनको एक गरि कुल चार वटा चेम्वर रहेको शीतभण्डारमा वीउविजनसँगै तरकारी तथा दुग्धजन्य वस्तुको चिस्यान गरिनेछ ।
आउँदो असार भित्रै कम्पाउण्डवाल, फिल्ड निर्माण र विद्युत जोडेर शीत भण्डार सञ्चालनमा ल्याउने तयारी भएको श्रीकोटमाझ खर्क सामुदायिक कृषि शीत भण्डारका अध्यक्ष गिताराम थापाले जानकारी दिए । उनले जनुसुकै समयमा उत्पादन गरिएको तरकारी, फलफुलजन्य उत्पादनलाई भण्डारण गरेर मौषमअनुकुल विक्री वितरण गर्ने लक्ष्य रहेको कोल्ड स्टोरेज भवनको रंगरोगनलगायत करीब २० प्रतिशत मात्रै काम बाँकी रहेको बताए ।
उनका अनुसार शीत भण्डारको अभावमा यस क्षेत्रको कृषि तथा दुग्धजन्य भण्डारणका लागि बाँकेको कोहलपुरलगायतका शहरमा निर्भर हुनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा राखिएको छ । ‘पूर्वी सुर्खेतमा चिस्यान केन्द्र नहुँदा उत्पादन गरेको तरकारी भण्डारण गर्न पाएका छैनन् । बाहिर जिल्लामा राख्दा लागत बढ्छ, आफ्नै गाउँमा चिस्यान केन्द्र बनेपछि त भण्डारण गरी बेमौसममा पनि बिक्री गर्न पाएमा मूल्य राम्रो पाइन्छ’ उनले भने, ‘संचितिकरण भएपछि बजारको समस्या भएन । किसानमा उत्साह थपिन्छ र उत्पादन बढ्छ । स्थानीय किसानहरुलाई सहकारीमा आबद्ध गराई शित भण्डारबाट लाभान्वित गराइनेछ ।’
सरकार र समुदायको लगानीमा निर्माण भएको उक्त शीत भण्डारमा आधुनिक एसी प्रविधिबाट वस्तुलाई चिस्यान दिइने कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए । उनले पूर्वी सुर्खेतको बोटेचारमा सञ्चालनमा आउन लागेको शीत भण्डारमा पूर्वी सुर्खेतसहित पश्चिम रुकुम, सल्यान, दाङसम्मका किसानले उत्पादन गरेका दुग्धजन्य, वीउविजन, तरकारी, फलफूलका साथै जडीबुटीलाई समेत राखिने बताए ।
शीतभण्डार केन्द्रले हालको भन्दा बढी उत्पादन हुने र किसानलाई लागत खर्च कम भई प्रतिफल वृद्धि हुने उनको विश्वास छ । ‘शीतभण्डार कृषि क्षेत्रको रुपान्तरणको एउटा महत्वपूर्ण कडी हो,’ उनले भने, ‘कृषिलाई व्यवसायिकरण गरी किसानलाई आम्दानीमुखी बनाउने उद्देश्यले शीतभण्डार निर्माण गरिएको हो ।’ उनका अनुसार सिजनमा उत्पादन गरेर मूल्य पाइने बेमौषममा पनि विक्री गर्न सकिने हुँदा बजार नपाइने र सस्तोमा विक्री गर्नु पर्ने झन्झट अब हट्नेछ ।