घरमै पुगेर नागरिकता प्रदान

सुर्खेत ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतले जन्मजात फरक क्षमता भएकालाई घरमै गएर नागरिकता वितरण गरेको छ । प्रशासनले जन्मजात नै मस्तिष्कघात जस्तो गम्भिर विरामीले थला परेकी वीरेन्द्रनगर नगरपालिका–४ एरीचोककी २० वर्षीया रोशनी थापालाई घरमै पुगेर नागरिकता दिएको हो ।

फरक क्षमता भएकी थापाका अभिभावकले जिल्ला प्रशासन कार्यालयमा नागरिकता पाउँ भनेर निवेदन दिएका थिए । निवेदनको आधारमा घरमै आएर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत सूर्यबहादुर थापाले बताए ।

उनले जन्मजात नै मस्तिष्कघात रोगले पीडित भएकी रोशनी कार्यालयसम्म आउन नसक्ने अवस्थाका कारणले सहजताका लागि भएपनि घरमै पुगेर राज्यबाट पाइने नागरिकता प्रदान गरिएको जनाए ।

नागरिकता पाएपछि रोशनीले राज्यबाट पाईने असाध्य तथा दिर्घरोगीहरुका लागि उपलब्ध सेवा सुविधाका साथै सरकारी अस्पतालमा उपचारमा छुट लगायतका लाभहरु लिन सहयोग पुग्ने उनको विश्वास थियो । लामो समयसम्म उपचार गर्दा पनि रोग निको हुन नसकेको बताउँदै रोशनीका अभिभावकहरुले घरमै आएर नागरिकता प्रदान गरेकोमा खुसी व्यक्त गरेका थिए ।

Translate »