सुर्खेत कारागारका १९ जना कैदीबन्दीको बाँकी कैद मिनाहा

सुर्खेत । सरकारले सुर्खेत कारागारमा कैदीबन्दी जीवन बिताइ रहेका १९ जनाको बाँकी कैद मिनाहा गरेको छ । १६ औं गणतन्त्र दिवको अवसरमा सुर्खेत कारागार भित्र विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ती कैदीबन्दीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद सजाय मिनाहा गरेपछि सोमबार सुर्खेत कारागारले रिहा गरेको हो ।

राष्ट्रपति पौडेलले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम ती कैदीबन्दीको बाँकी सजाय मिनाहा गरेका हुन् । सुर्खेत कारागार प्रशासनका अनुसार बाँकी कैद मिनाहा पाउनेमा १६ जना पुरुष र ३ जना महिला रहेका छन् ।

उनीहरु मध्ये बहुविवाह–१०, चोरी–४, सवारी ज्यान–३ र ज्यान मार्ने उद्योगका–२ जना रहेको कारागारका सूचना अधिकारी भुवन गौतमले जानकारी दिए । ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियम अनुसार रिहा गरिएको सुर्खेत कारागार प्रशासक लक्ष्मी खरेलले बताईन् ।

उनले कैदी बन्दीको बानी व्यवहार, अनुसार चालचलन, रहनसहन सबै राम्रो भएपछि कारागार प्रशासक र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाहा हुने व्यवस्था अनुसार बाँकी कैद मिनाहा गरिएको जनाईन् ।

उनका अनुसार सुर्खेत कारागारमा अहिले ५ जना आश्रित बालबालिकासहित ४३ जना महिला र ३ सय ५१ जना पुरुषसहित कुल ३ सय ९४ जना कैदीबन्दीहरु विभिन्न मुद्दामा जेल सजाय काटी रहेका छन् ।

यसपटक देशैभर विभिन्न कसुरमा दोषी ठहर भएका १९ जनाले आममाफी पाउँदा सुर्खेत कारागारबाट एक जना पनि परेनन् । तर ५० प्रतिशत कैद भुक्तान गरिसकेका ४८२ जना मध्ये भने सुर्खेत कारागारबाट १९ जना कैदीबन्दीको बाँकी कैद माफी मिनाह भएको छ । कानूनअनुसार विभिन्न कसुरमा दोषी ठहर भएका व्यक्ति र ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ ।

Translate »