अत्यधिक गर्मी बढेसँगै विद्यालय थप दुई दिन बिदा

सुर्खेत । अत्यधिक गर्मीका कारण कोहलपुर नगरपालिकाले विद्यालयहरूमा थप दुई दिन पठनपाठन बन्द गर्न भन्दै एक सूचना जारी गरेको छ । शिक्षा तथा खेलकुद शाखा प्रमुख राम बहादुर हमालद्वारा हस्ताक्षरित सूचनामा मौसम सुधार नभएको जनाउँदै २२ गतेदेखि दिइएको बिदालाई निरन्तरता दिँदै २६ गते शुक्रबार सम्म गर्मी बिदा दिई पठनपाठन स्थगन गर्न भनिएको छ ।

विद्यालयमा अध्ययन अध्यापन गर्न गराउन कठिनाइ भएको भनी शिक्षक, विद्यालय तथा अभिभावकबाट प्राप्त सूचनाका आधारमा थप २ दिनसम्म बिदा गरिएको हमालले बताए ।

वर्षे बिदाबाट कट्टी हुने गरी यही जेठ २२ गतेदेखी २४ गते सम्म गरिएको बिदा शुक्रबार सम्म थप गरिएपछि अब कोहलपुर नगर क्षेत्रका विद्यालयहरूमा आइतबार मात्र पठनपाठन हुनेछ । गर्मीका कारण नेपालगन्ज उपमहानगरपालिका, राप्ति सोनारी, खजुरा तथा बैजनाथ गाउँपालिका लगायतका स्थानीय तहले पनि विद्यालय पठनपाठन स्थगन गरिसकेका छन् । पठनपाठन स्थगन भएपनि विद्यालयका प्रशासनिक कामकाज भने सुचारु रहनेछन् ।

यसैवीच गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू एक हप्ता बन्द गरिने भएको छ । अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गर्ने भएका हुन् ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ‘प्याब्सन’को सुर्खेत कार्यसमितिले विद्यालयलाई एक साताका लागि गर्मी बिदा दिन पत्राचार गरेको छ ।

सोहीअनुसार विद्यालयमा जेठ २४ देखि ३० सम्म पठनपाठन रोकिनेछ । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना हुनसक्ने जोखिम बढेको भन्दै प्याब्सनले वातावरणमा सुधार आएपछि जेठ ३१ गतेबाट पठनपाठन सुरु गर्ने जनाएको छ ।

Translate »