तराईमा चार दिनसम्म लूको सम्भावना यथावत्, सतर्कता नअपनाए भोग्नुपर्ला यी समस्या

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा तापक्रम क्रमिक रूपमा बढ्ने देखिन्छ ।

काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामासमेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । साथै पहाडी भूभागका उपत्यका तथा खोंचमासमेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनसमेत अनुरोध गरिएको छ ।

महाशाखाले तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, सुती कपडा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न र टोपी लगाउन सुझाव दिएको छ ।

साथै नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ ।

तातो हावा तथा लूबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएको छ । रासस

Translate »